कोरोना संक्रमणबाट पूर्व सभाषदको मृत्यु

  ।   ११ कार्तिक २०७७, मंगलवार १६:०३

कार्तिक ११, सप्तरी ।

संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ ।

सप्तरीको कंचनरुप नगरपालिका-४, जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो ।

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ रिपोर्ट आएको थियो ।

ज्वरोबाट पीडित ५५ बर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोजको तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थिएन ।

यसपछि उनलाई घर ल्याइएको थियो । घरमा पुनः बिरामी भएपछि कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत कात्तिक २ गते राति थप उपचारका लागि धरान लगिएको थियो । सोही दिन उनको स्वाब संकलन गरेर परीक्षण गर्दा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

पोजेटिभ आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु भएको कंचनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्रले जानकारी दिए ।

कंचनरुप नगरपालिकाका स्वास्थ्य शाखा सह-संयोजक डम्बर गुप्ताका अनुसार चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

Next Post

कोरोना विरुद्धको भ्याक्सिन अन्तिम चरणमा

११ कार्तिक २०७७, मंगलवार १६:०३
एजेन्सी । कोरोना विरुद्धको भ्याक्सिन अन्तिम चरणमा रहेको जनाइएको छ । कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । संसार कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा छ । यो वर्ष (सन २०२०) को अन्तिममा कोरोनाविरुद्धको भ्याक्सिन प्राप्त हुने अनुमान गरिएको छ । अन्तिम चरणको परीक्षणमा रहेका केही भ्याक्सिनमा साइड इफेक्ट देखिएको छ । अक्सफोर्ड […]