
एजेन्सी ।
कोरोना विरुद्धको भ्याक्सिन अन्तिम चरणमा रहेको जनाइएको छ । कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । संसार कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा छ । यो वर्ष (सन २०२०) को अन्तिममा कोरोनाविरुद्धको भ्याक्सिन प्राप्त हुने अनुमान गरिएको छ । अन्तिम चरणको परीक्षणमा रहेका केही भ्याक्सिनमा साइड इफेक्ट देखिएको छ ।
अक्सफोर्ड र जोनसन एण्ड जोनसन कम्पनीका भ्याक्सिनले साइड इफेक्ट देखिएपछि रोकिएको थियो । तर, अन्य देशका भ्याक्सिन अन्तिम चरणमा छन् । अहिलेसम्म ती भ्याक्सिनको साइड इफेक्ट देखिएको छैन । अन्तिम चरणको प्रारम्भिक नतिजा पनि राम्रो देखिएको छ । ती भ्याक्सिनमा नै संसारको भरोसा अडिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार संसारभर १ सय ५४ भ्याक्सिनको क्लिनिकल परीक्षण चलिरहेको छ । त्यसमध्ये ४४ भ्याक्सिन मानव परीक्षणका क्रममा छन् । मानव परीक्षणका क्रममा भ्याक्सिनको प्रभावकारीता र मानव सुरक्षाको अवस्था पत्ता लगाइन्छ । भ्याक्सिन सफल भएपछि पनि अन्य दुई चरणपछि मात्र आम मानिससम्म भ्याक्सिन पुग्ने गर्छ ।
भ्याक्सिनको दौडमा चिनियाँ तीनवटा कम्पनी अहिले सबैभन्दा अगाडि छन् । सिनोभ्याक चीन, सिनोफार्म वुहान र सिनोफार्म बेइजिङ भ्याक्सिन परीक्षणको तेस्रो चरणको अन्तिममा छन् । यीमध्ये दुई कम्पनीले कर्मचारी र हेल्थ केयरको क्षेत्रमा काम गर्नेहरुलाई जुलाइदेखि नै भ्याक्सिन दिइरहेका छन् । यी तीनवटा कम्पनीका भ्याक्सिनमा अहिलेसम्म कुनै पनि प्रकारको साइड इफेक्ट देखिएको छैन ।
चिनियाँ भ्याक्सिनसँगै अक्सफोर्ड र एष्ट्राजेनेका बेलायत, मोर्डेना अमेरिका, क्यानसिनो बायोलोजिक चीन, जोनसन एण्ड जोनसन अमेरिका र नोभा भ्याक्सिन अमेरिकाले विकास गरेका कोरोनाविरुद्धका भ्याक्सिन तेस्रो चरणको परीक्षणमा छन् । तेस्रो चरणको परीक्षणलाई हेर्दा सबैभन्दा अगाडि चीन देखिएको छ । अर्को महिनादेखि चीनले कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक गर्ने तयारी गरेको छ ।
सबैभन्दा पहिले भ्याक्सिन सार्वजनिक गर्ने देश रुस भए पनि विश्वले रुसलाई विश्वास गरेन । भ्याक्सिनको प्रभावकारीताका विषयमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन आफैले पनि विश्वास गर्न सकेका छैनन् । चीन, अमेरिका, बेलायत लगायतका देशले रुसी भ्याक्सिनको विश्वास गरेनन् । अहिले फेरि तेस्रो चरणको परीक्षणमा लगिएको छ ।
ज्हाफी चीन, इनोबायो अमेरिका, मर्क अमेरिका, सनोफी फ्रान्स र ग्लेक्सोमिथक्लाइन बेलायतले विकास गरेका भ्याक्सिन अहिले दोस्रो चरणको परीक्षणमा छन् । यी भ्याक्सिन राम्रोसँग तयारी गरेर बनाइएको छ । यी भ्याक्सिन साझेदारीमा तयार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
क्लिनिकल परीक्षण अन्तरगत तेस्रो चरण पार गरेपछि भ्याक्सिनको आपतकालीन अथोराइजेसन लिनुपर्ने हुन्छ । यो चरणमा कोरोनाबाट गम्भीर असर पर्न सक्ने र परेका व्यक्तिलाई दिइन्छ । यसमा भ्याक्सिनको असरका विषयमा डाटा एनालाइसिस गरिन्छ । चिनियाँ भ्याक्सिन यहीँ चरणमा चलिरहेका छन् । यो चरण पार गरेपछि भ्याक्सिन निर्माता कम्पनीले फाइनल अप्रूभल लिनुपर्ने हुन्छ । त्यसपछि मात्रै भ्याक्सिन सामान्य व्यक्तिका लागि उपलब्ध हुनसक्छ ।

