
बैशाख-२५, काठमाडौ । सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सिंहले अकुत सम्पत्ति जम्मा गरेको दाबीसहित उनकै गृहजिल्लाबासी विकाशकुमार ठाकुरले सोमवार अख्तियारमा उजुरी दिएका हुन् ।
सिंहविरुद्ध अनुसन्धानगरी कारबाही गर्न गरिएको निवेदन आयोगले आज (सोमबार) नै दर्ता गरेको छ । सामान्य परिवारमा जन्मिएका सिंह राजनीतिकबाहेक अन्य पेशा/व्यवसायमा संलग्न नभए पनि अकुत सम्पत्ति आर्जन गरेको निवेदकको दाबी छ ।
निवेदक ठाकुरले आफ्नो दाबीमा बल पुग्ने केही आधार पनि प्रस्तुत गरेका छन् । उनले २०६३ सालमा अन्तरिम संसद्को सदस्य हुनुपूर्व सिंह काठमाडौको कीर्तिपुरमा २ कोठा भाडामा लिई बसोबास शुरू गरेको निवेदनमा उल्लेख गरेका छन् । तर, अहिले ठाउँ ठाउँमा सिंहको अर्बौँको सम्पत्ति रहेको उनको दाबी छ ।
लामो समय नेपाली कांग्रेसको राजनीति गरेका सिंह गत निर्वाचनमा स्वतन्त्र उठेर चुनाव जितेका थिए ।

