
जेठ-, काठमाडौ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभर कम पानी पर्ने प्रक्षेपण गरेको छ । सरदरभन्दा कम पानी पर्ने र मनसुन अवधिभर विगतभन्दा न्यून तापक्रम हुने अनुमान पनि गरिएको छ ।
नेपालमा सामान्यतय: जेठ अन्तिम साताबाट मनसुन प्रवेश गर्छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गर्ने सम्भावना रहेको बताएका छन् । नेपालमा मनुसन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ ।
यस्तै विगतका तथ्यांक अनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्र्थुम, ओखलढुंगा, ललितपर, नवुाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन् ।
त्यसैगरी, बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनषुा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् ।
मनसुनजन्य विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकाय अन्तर्गतका खोज-उद्धार जनशक्ति र विभिन्न निकाय अन्तर्गत रहेका विपद् उद्धार तथा राहतसँग सम्बन्धित स्रोत साधन यन्त्र उपकरण सातवटै प्रदेशमा तयारी अवस्थामा राखिएको बताइएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आइतबारको बैठकले बहुप्रकोपीय जोखिम आकलन विधि तथा कार्ययोजना तयार गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, केन्द्रीय तथ्यांक कार्यालय, जल तथा मौसम विज्ञान विभाग र खानी तथा भू-गर्भ विभागको प्रतिनिधित्व रहेको कार्यदल पनि गठन गरेको छ ।
उक्त बैठकले तातो हावाको लहरबाट प्रभावितहरूलाई सहयोग पुर्याउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई संघीय निकायहरु, प्रदेश सरकार, स्थानीय तह तथा संघसंस्थासँग आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ ।

