हतियारसहित नेपाल छिरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

  ।   २३ कार्तिक २०७७, आईतवार १५:२८

कार्तिक २३, कैलाली ।

कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले धपाएका छन् । जिल्लाको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीका ६ जना सुरक्षाकर्मी शनिबार प्रवेश गरेका थिए । डोरी, क्यामेरा र हतियारसहित रहेका उनीहरूलाई स्थानीयवासीले अनुमति बिना नेपाल प्रवेश गरेको भन्दै आइतबार फिर्ता पठाएका हुन् । ‘हामीले कोसँग सोधेर आयौ भन्यौँ । उनीहरुले कसैलाई सोधेका छैनौँ भने । त्यसपछि २०/२५ जना युवाहरू मिलेर लखेट्न थाल्यौँ’ बेलौरी नगरपालिका–१० का वडा सदस्य रामनाथ चौधरीले भने ‘त्यसपछि उनीहरु भागे ।’

उनले यसअघि पनि पटक-पटक नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले ज्यादती गर्ने गरेको बताए । ‘हामीलाई हाम्रै भूमिमा आएर धम्की दिन्छन् । नेपाल सरकारले चासो दिँदैन’ उनले भने ‘यस पटक पनि एकलौटी रुपमा नेपाल छिरेर सीमा नाप्दै थिए । हामी जाइलाग्न खोजेपछि उनीहरु भागे ।’ नेपाली प्रशासनसँग समन्वय नगरी सीमा स्तम्भ निरीक्षण गर्ने भन्दै हतियारसहित एसएसबीका सुरक्षाकर्मी नेपाल प्रवेश गरेका थिए । बेलौरी नगरपालिका वडा नम्बर १० को नेपाल भारत सीमा स्तम्भ नम्बर ३५ देखि नाप्दै आइरहेको एसएसबी ३४ र ३३ नम्बर सीमा स्तम्भ भएको क्षेत्रमा हतियारसहित पुगेपछि धपाएको वडासदस्य चौधरीले बताए ।

शनिबार सोही टोली बेल्डाडी गाउँपालिकाको सीमा नम्बर ३२ मा समेत पुगेको स्थानीयले बताएका छन् । नेपाली भूमिमा प्रवेश गरेर उनीहरुले नापी गर्दा कसैलाई जानकारी नदिएको बेलौरी नगरपालिका– १० का अध्यक्ष हरिलाल चौधरीले बताए । अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लब राज भट्टले सीमा विवाद मिलाउन सरकारले टोली गठन गरेको भए पनि एसएसबीका सुरक्षाकर्मी दादागिरी शैलीमा नेपाल प्रवेश गरेको बताए । ‘कसैसँग समन्वय नगरी अर्काे देशमा हतियारसहित प्रवेश गरेका छन् । यो त दादागिरी हो’ उनले भने, ‘नेपाली भूमिमा आएर नाप–जोख गर्ने अधिकार कसले दियो ?’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतीय पक्षले समन्वय नै नगरी नेपाली भूमिमा प्रवेश गरेको बताए । ‘नेपाल भारत सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसँग समन्वय गर्नुपर्ने हो, तर भारतीय पक्षले समन्वय गरेनन्’ उनले भने ।

यद्यपि प्रमुख जिल्ला अधिकारी महतोले उनीहरु नेपाल पस्नुको कारण सामान्य रहेको बताए । ‘नेपाल–भारतका सीमामा रहेका सीमा स्तम्भहरू हेरफेर भएको छ कि छैन भनेर निरीक्षण गरेका हुन्’ प्रजिअ महतोले भने ‘एसएसबीले गर्ने नियमित गस्ती हो ।’

Next Post

बिदेशमा कोरोना संक्रमीत नेपालीको संख्या ४४ हजार नाघ्यो

२३ कार्तिक २०७७, आईतवार १५:२८
कार्तिक २३, काठमाडौ । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घको […]