मनोज डाँगी
रोल्पा असोज १९ ।
रोल्पा प्रहरीले विवाह मण्डपबाटै बालविवाह रोकेको छ । आइतबार त्रिवेणी गाउँपालिका-७ कि १४ वर्षिया युुवती र सोही वडाको माथिल्लो तितिमका १७ वर्षीय युवाबीच हुन लागेको विवाह मण्डपबाटै रोकिएको हो । यसरी दुई बालबालिकाकावीच विवाह हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले मण्डपबाटै विवाह रोकेको रोल्पा जिल्लाका प्रहरी नायव उपरिक्षक नरेश सुवेदीले जानकारी दिए । उनका अनुसार बालविवाह हुँदैछ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी विवाह मण्डपमै पुगेको थियो । तर हिन्दू परम्पराअनुसार बैवाहिक कार्यक्रम भने सम्पन्न हुन पाएको थिएन । जसका कारण प्रहरीले दुलाहा दुलहीका अभिभावकलाई नियन्त्रणमा लिइ हुन लागेको विवाह रोकेको हो । डिएसपी सुवेदीका अनुसार बालविवाहलाई कानूनले दण्डनीय अपराध मानेको छ ।
प्रहरीले मण्डपबाट विवाह रोके लगत्तै दुबै पक्षलाई प्रहरी चौकी जुगारमा ल्याई दुलाहा दुलहीको उमेर नपुगेको कारण विवाह गर्न नपाउने भनि सुझाव दिई ती बालबालिकालाई अभिभावकको जिम्मा लगाई घर पठाइएको छ । उमेर नपुग्दासम्म उनीहरुको विवाह रोक लगाइएको भए पनि उमेर पगेपछि उनीहरुले विवाह गर्न सक्नेछन् । प्रहरीले दुवै पक्षका अभिभावकहरुलाई भबिष्यमा पनि यस्ता किसिमका गैरकानूनी कार्यमा संलग्न नहुने भनी सही छाप गरी पठाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।
