‘मेरा श्रीमान्‌ले रकम नपाउन्जेल गाउँपालिकाका सबै भुक्तानी राेक्नू’

  ।   २१ असार २०७९, मंगलवार ०७:५२

दैलेख : स्थानीय तहका जनप्रतिनिधिले आफन्तहरुका लागि के सम्म गर्न पछि पर्दैनन् भन्ने एक ज्वलन्त उदाहरण दैलेखको भैरवी गाउँपालिकामा देखिएको छ।

गाउँपालिकाका अध्यक्ष रीता शाहीले आफ्ना श्रीमान्‌ले गरेको कामको भुक्तानी नपाएसम्म गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्मालाई अन्य भुक्तानी नदिन भन्दै भोलिबाट गाउँपालिकामा हाजिर नगर्न समेत भनेकी छन्।

आफ्नो श्रीमान्‌ले निर्माण गरेको भवनको भुक्तानीका लागि गाउँपालिका अध्यक्ष शाहीले विवाद गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्माले बताए। उनले भवन निर्माण प्रक्रिया कागजी रूपमा गलत देखिएकाले भुक्तानी दिन नमिल्ने बताए।

‘भवन निर्माण कार्य भुक्तानी प्रक्रिया बारे बुझ्दा दिन नमिल्ने कुरा अध्यक्षलाई भनेँ, उहाँले आफ्नो श्रीमानको पैसा भुक्तानी नदिए आफूलाई भोलिबाट गाउँपालिकामा हाजिर नगर्न र लेखालाई चेक नकाट्न भन्नुभएको छ’, प्रशासकीय अधिकृत विकले भने।

गाउँपालिका अध्यक्षले आफ्नो पैसा भुक्तानी नभएसम्म अन्य चेक काट्न नपाइने भनेपछि असारको मुखैमा गाउँपालिकाबाट जनताले पाउने सेवा पूर्णरूपमा ठप्प भएको प्रशासकीय अधिकृत विकले बताए।

यता, गाउँपालिकाका अध्यक्ष रीता शाहीले आफ्नो श्रीमानको समस्या भन्दा आम मजदूरको विषयमा आवाज उठाएको बताइन्।

भुक्तानी माग्दा प्रशासकीय अधिकृतले दिने नमिल्ने भनेको तर नखुलाएको अध्यक्ष शाहीको भनाई छ। उनले घुमाउरो पारामा प्रमुख प्रशासकीय अधिकृत विकलाई गाउँपालिकामा नबस्न भनेको स्वीकार गरिन्। ‘हाकिम साबले भुक्तानी दिन गाह्रो छ भन्नुभयो, मैले काम गरेको पैसा दिन गाह्रो छ भने सजिलो काम कहाँ छ जानू भनेकी हूँ’, उनले भनिन्।

गाउँपालिका इन्जिनियर विकास विष्टले कागजी रूपमा भवन निर्माण प्रक्रिया गलत देखिएको बताए। उनले उक्त भवन निर्माणको काम एक वर्षमा सकाउनु पर्ने भए पनि पटक–पटक गरेर तीन चोटी म्याद थपिएको बताए।

गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि आर्थिक वर्ष ०७५/७६ मा ८८ लाख लागतमा प्रिफ्याब भवन निर्माणको जिम्मा गाउँपालिका अध्यक्षका श्रीमान् बखत बहादुर शाहीको मालिका निर्माण सेवाले पाएको थियो।

८८ लाखको लागतमा निर्माण कार्य सुरु गरिएको प्रिफ्याब भवनको १५ लाख भुक्तानी यस अघि नै निर्माण कम्पनीले लिई सकेको इन्जिनियर विष्टले बताए। #थाहाखबर डटकमबाट साभार ।

Next Post

आइतबार फेरि सार्वजनिक विदाको प्रस्ताव

२१ असार २०७९, मंगलवार ०७:५२
काठमाडौं । नेपाल आयल निगमले आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू गर्न माग गरेको छ । पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले यसअघि जेठ महिनाभर आइतबार सार्वजनिक बिदा गरेको थियो । चौतर्फी विरोध भएपछि सरकार सो निर्णयबाट पछि हटेको थियो । आइतबार बिदा गर्दा पेट्रोलियम पदार्थको खपतमा ११ प्रतिशतले […]