
जिल्लाको धार्मीक पर्यटकिय स्थलहरुको प्रचार प्रसारको नाममा नारायण नगरपालिकाका कर्मचारीहरुले आफ्ना श्रीमती, छोराछोरी लिएर भ्रमणमा निस्किएका छन्। बाहिरी जिल्लामा दैलेखको पर्यटकिय स्थलको प्रचारप्रसार गर्ने शिर्षकबाट कर्मचारीहरुले आफ्ना श्रीमती र छोराछोरीसहित अनावश्यक कर्मचारी र स्थानीयहरुलाई मुक्तीनाथसम्मको भ्रमण गराएका हुन्।
नारायण नगरपालिका–१ ले आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन गरेको ५ लाख रुपैयाँ कर्मचारीहरुले अनावश्यक रुपमा भ्रमण गरेर खर्च गरेपछि स्थानीयहरुले विरोध गरेका छन्। वडामा विकास निर्माण गर्नुपर्ने पैसा भ्रमणको नाममा दुरुप्रयोग गर्दै कर्मचारी र जनप्रतिनिधिहरुले खर्च गरेका हुन्।
प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर मल्लले श्रीमती र छोरी, वडा नम्वर १ को सचिव गोपाल श्रेष्ठले श्रीमती लिएका छन् भने, नगरपालिकाका अनावश्यक कर्मचारी, नयाँ र पुराना जनप्रतिनिधिहरु र उनीहरुका श्रीमती र छोराछोरी लिएर भ्रमणमा निस्किएका हुन्। असार नजिकिँदै गर्दा फजुल खर्च गर्न २१ जनाको टोली ३ वटा स्कारपियो जिप भाडाँमा लिएर लुम्वनी, पोखरा हुँदै मुक्तीनाथ पुगेका हुन्।
भ्रमण जाँदा यहाँको धार्मीक ऐतिहासिक सम्पदा, कला संस्कृतीको पोष्टर फोटो लिएर जानुपर्ने योजना रहेको र कसरी कार्यकम बनाएर गए आफूलाई थाहा नभएको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले बताए। असार लाग्दा नगरपालिकामा योजना अनुगमन, भुक्तानीका लागि सेवाग्राहीहरुको बाक्लो लाईन हुँदा नगरपालिकाका कर्मचारीहरु भ्रमणमा निस्केपछि सेवाग्राही आक्रोशित छन्। बार्षिक कार्यक्रमअनुसार भ्रमणमा तय भएको वडा कार्यालयले जनाएको छ। कर्मचारी बाहिर जाँदा प्रशासनलाई जानकारी गराउनुपर्ने भएपनि कुनै जानकारी नआएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। ‘अनावश्यक र उत्पादनहीन काममा पैसा खर्च गरेर भ्रमण गर्नु गलत हो।’ प्रमुख जिल्ला अधिकारीले भने, फर्जुल खर्च गरेर भ्रमण गर्नु सरकारको नीति विपरीत हुन्छ।’ #समाचार/तस्वीर : नागरिक दैनिक ।

