लक्षित वर्गका गुनासा सुन्दै सामाजिक बिकास समिति

  ।   १२ फाल्गुन २०७८, बिहीबार ०७:४७

फागुन-११, सुर्खेत ।

कर्णाली प्रदेश सभा सामाजिक बिकास समितिले लक्षित वर्ग केन्द्रित नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । लक्षित वर्गका समस्याहरु संकलन गरी प्रदेश सरकारलाई सोही अनुरुपको निति निर्माण तथा बजेट तर्जुमा गर्न निर्देशन दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

जेष्ठ नागरिक, एकल महिला, दलित, अपांगता भएका ब्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायतका समुदायले आफुहरुको पीडा सरकारले नसुनेको गुनासो पोखेका थिए । कर्णाली प्रदेशमा ब्याप्त बेरोजगारी समस्या, खस्किँदो शिक्षाको स्तर, सरकारी कामकाजमा आफुहरुले भोग्नु परेका असहजता जस्ता बिषयमा सहभागीहरुले खुलेरै गुनासो राखेको बताइएको छ ।

सरकारले आफुहरुलाई दिएको सामाजिक सुरक्षा भत्ता लगायतका सुबिधाहरु प्राप्त गर्न समेत कठिनाइ भोग्नुपरेको बताउँदै सहभागीहरुले आफुहरुलाई  समाजमा आत्मसम्मानका साथ जीउन पाउने वातावरण तयार गर्न र त्यसै अनुरुपको कानुन निर्माण गरिदिनका लागि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीका गुनासो मेटाउँदै सामाजिक बिकास समिति अध्यक्ष देवी ओलीले लक्षित वर्गको लागि प्रदेश सरकारको तर्फबाट अहिलेसम्म भएका सकारात्मक कामलाई यथावत राख्दै समस्या समाधनका लागि थप नीति निर्माण र बजेट बिनियोजनमा सरकारलाई निर्देशन दिने प्रतिबद्धता जनाउनु भयो । `प्रदेश सरकारको ४ बर्षे कार्यकालमा कत्तिपनि काम नभएको होइन, तर हामिले सोचेजती काम हुन सकेको छैन´ अध्यक्ष ओलीले भन्नुभयो `अझै त्यसतर्फ ध्यान दिन समितिको तर्फबाट प्रदेश सरकारलाई निर्देशित गर्नेछौं ।´

संवाद कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, प्रदेश सभा सदस्यहरु सुशीलकुमार थापा, बदमी  क्वारी बोहरा र सोशिला शाहीले समेत आफुहरु सम्बद्ध समितिसंग सम्बन्धित उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

बुधबार सुर्खेत बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा कलाकारहरु सारङ्गी बादक तिलक गन्धर्व, बाँसुरी बादक ज्ञानबहादुर नेपाली र गायक शेरबहादुर आचार्य `गाइने´ ले सारङ्गी र गीतको माध्यमबाट लक्षित वर्गका पीडा सुनाउनु भएको थियो ।

संसद सहयोग परियोजनाको सहकार्यमा र प्रदेश सभा सामाजिक बिकास समितिको आयोजनामा आयोजित कार्यक्रमको सहजीकरण सामाजिक बिकास समिती कर्णाली प्रदेशका सचिव राजेन्द्र पौडेल र मध्यपश्चिम बिश्वबिद्धालय सुर्खेतका उप-प्राध्यापक कमल लम्सालले गर्नु भएको थियो ।

Next Post

कसै-कसैको जुँगा जोगाइदिन व्याख्यात्मक टिप्पणी ल्याउनुपरेको छ : कांग्रेस नेता रिजाल

१२ फाल्गुन २०७८, बिहीबार ०७:४७
फागुन १५, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले केही नेताहरूको जुँगा जोगाइदिन एमसीसीबारे व्याख्यात्मक टिप्पणी गर्नुपरेको बताएका छन् । प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा बोल्दै नेता रिजालले व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौताको मूल मर्ममा कुनै असर नपर्ने भएपनि गठबन्धनका केही नेताहरूको जुँगाको लडाइँ जोगाइदिन व्याख्यात्मक टिप्पणीको सन्दर्भ आएको बताए । उनको […]