ओलीविरोधी गठबन्धन ‘गर या मर’ को अवस्थामा

  ।   ७ जेष्ठ २०७८, शुक्रबार ११:४९

काठमाडौं, ७ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठको साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार निर्माणको आव्हान गरिन् । त्यो पनि मात्र २१ घन्टाको समयावधि दिए ।

राष्ट्रपतिको कदम प्रधानमन्त्री ओलीकै रणनीतिमा मध्यावधि चुनावमा देशलाई लाने रणनीतिका साथ भएको विश्लेषण भइरहेको छ । यस्तो अवस्थामा ओलीविरोधी गठबन्धन निकै दबाबमा परेका छन् । उनीहरु गर या मरको चुनौतीको सामना गर्न पुगेका छन् ।

आज साँझ ५ बजेभित्र ओलीको सत्ताबाट बर्हिगमनका लागि विरोधी गठबन्धन प्रयासमा लागिसकेका छन् । उनीहरुले बहुमत सुनिश्चित गरेर प्रधानमन्त्रीको दाबेदार तयार गर्न खोजेका छन् ।

ओलीविरोधी गठबन्धन सुनिश्चित गर्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी एकजुट हुनसकेमात्र सम्भव छ । काँग्रेस र माओवादी केन्द्र गठबन्धनमा भएपनि जसपा अझै विभाजित छ । जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएमात्र गठबन्धन सम्भव देखिन्छ । ठाकुरलाई प्रधानमन्त्री मान्न काँग्रेस सभापति शेरबहादुर देउवा तयार हुनुपर्छ ।

ठाकुरले प्रधानमन्त्री बन्ने अवसर पाएमा गठबन्धन निर्माणमा साथ दिने सम्भावना पनि छ । तर, उनको प्रधानमन्त्री ओलीसँग निकटता कायमै छ । बिहिबार पनि ठाकुरले ओलीसँग भेटवार्ता गरे । ठाकुर पक्षलाई साथमा ल्याउन ओलीले नागरिकतासम्बन्धी ऐन संशोधनका लागि अध्यादेश नै ल्याएका छन् । उनले एकपछि अर्को कदम चाल्दै ठाकुरलाई साथमा लिन खोजिरहेका छन् ।

ठाकुरले प्रधानमन्त्री पद पाएमा ओलीको साथ छाड्ने सम्भावना नभएको होइन । ओलीविरोधी गठबन्धनले बहुमत बनाउन यसको अस्त्र पनि तयार गर्ने सम्भावना छ । तर, जसपाभित्र राजेन्द्र महतो पक्षधर ओलीको पक्षमा नै लाग्ने सम्भावना देखिन्छ ।

ओलीविरोधी दल र नेताहरु गठबन्धनका लागि `गर या मर´ को लडाईंमा छन् । यसका लागि आज राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकास हुने सम्भावना पनि छ । महन्थ ठाकुरको प्रधानमन्त्री बन्ने ढोका खुल्ने या ओलीले आफूविरोधी गठबन्धनलाई बहुमतबाट रोक्ने अन्तिम संघर्ष चलिरहेको छ ।

Next Post

जो बाइडेन किम जोङसँग भेट्न तयार ! तर, राखे यस्तो शर्त

७ जेष्ठ २०७८, शुक्रबार ११:४९
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू उत्तर कोरियाली शासक किम जोङ उनसँग भेटघाटका लागि तयार भएको तर छलफल परमाणु कार्यक्रमको विषयमा केन्द्रीत हुनुपर्ने धारणा व्यक्त गरेका छन् । शनिबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति मून जेई–इनबीच भएको द्वीपक्षीय वार्तापछि बाइडेनले कोरियाली प्रायद्वीप परमाणु हतियार मुक्त रहनुपर्नेमा […]