शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै लाखौं असुलेर फरार

  ।   १९ चैत्र २०७८, शनिबार १७:१५

सुर्खेत ।

शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै परीक्षार्थीबाट लाखौं रकम असुल्ने युवा फरार भएका छन् । कालीकोट गेला निवासी जगत शाहीले आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर पास गराउने भन्दै परीक्षार्थीबाट ६० लाखभन्दा बढी रकम असुलेर फरार भएका हुन् ।

१५ गतेबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा पास गराइदिने भन्दै प्रतिव्यक्ति २ लाखका दरले रकम उठाएर पश्नपत्रसहित उत्तर लेखेर पठाइदिने शर्तमा पैसा उठाएका थिए। कालिका माध्यामिक विद्यालयका शिक्षक खेमराज शाहीले परीक्षार्थीहरुबाट दुई लाख रकम असुलेर फरार भएको बताएका छन्।

फरार जगत शाहीले परीक्षा समयअघि नै प्रश्नपत्र लिक गराउने शर्तमा परीक्षार्थीबाट रकम असुलेको परीक्षार्थीहरूको गुनासो छ। तर रकम बुझाएका परीक्षार्थीले प्रश्नपत्र उपलब्ध नगराएको भन्दै शुक्रबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकको एक होटलमा घेराउसमेत गरेका थिए। कालीकोटकै विजय शाहीले परीक्षामा पास गराइदिने भन्दै २ लाख रुपैयाँ दिएको बताए।

परीक्षार्थीले पैसा फिर्ता मागेपछि उनी ४ तलाको घरबाट हाम फालेर फरार भएको स्थानीयहरूले बताएका छन्। प्रहरीले गैरकानुनी रुपमा रकम असुल्ने जगत र उनका सहयोगी मनराज शाहीलाई खोजी गरिरहेको जनाएको छ। परीक्षा समयभन्दा अगाडि शुक्रबार जेनिथ ईन्स्टिच्युट र सुर्खेतस्थित एमपीजे म:म सेन्टरबाट हस्तलिखित प्रश्नउत्तरसहितको फोटोकपी बाँड्दै रकम असुलेको खुलेको छ।

उनीहरुले कालीकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेत लगायत स्थानका परिक्षार्थीबाट २ लाखका दरले रकम असुलेको खुलेको प्रहरीले जनाएको छ। रकम असुल्नेमा कालीकोट घर भएका मनराज शाही र जगत शाही लगायतका युवाहरू भएको पाइएको छ। कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयकी प्रमुख दीपा हमालले भने ट्युसन सेन्टरको बदमासी हुनसक्ने बताएकी छन्।

सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख पदम विष्टले प्रशिक्षार्थीहरुको गुनासो आएकाले अनुसन्धान भइरहेको बताएका छन्। प्रहरीले उत्तर सहितको प्रश्नपत्र बाहिरिएको सूचना पाए लगत्तै खोजी कार्य गरेको थियो। फोटो/समाचार साभार : कान्तिपुर दैनिकबाट

Next Post

स्थानीय तह निर्वाचनको मतपत्र : ‘सूर्य’ चिन्ह पहिलो र रुख दोस्रो नम्बरमा

१९ चैत्र २०७८, शनिबार १७:१५
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका […]