मन्त्रिपरिषद् पुनर्गठन : काठको ठेक्कापट्टा गर्ने नै वनमन्त्री, साहको रोचक प्रबेश, श्रीमान `आउट´ हुँदा श्रीमती `इन´

  ।   ११ पुष २०७७, शनिबार ०८:०८

मन्त्रिपरिषद्‍मा प्रभु साहको प्रवेश रोचक ढंगले भएको छ । प्रतिनिधिसभा विघटनलगत्तै उनले उक्त निर्णयलाई आत्मघाती भनेका थिए । साह केही दिन दाहाल–नेपाल समूहमा पनि लागे । उक्त समूहको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएका उनी शुक्रबार मन्त्रीका रूपमा प्रकट भए ।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि शुक्रबार ८ मन्त्री र १ राज्यमन्त्री थपेका छन् । ६ जना पुराना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् भने १ मन्त्री र १ राज्यमन्त्री हटाएका छन् । प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा सडक आन्दोलन भइरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । थपिएका ९ जनामा ५ जना पूर्वमाओवादी पृष्ठभूमिबाट ओली समूहमा लागेका नेताहरू छन् । अन्य ४ जना पूर्वएमाले हुन् ।

प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास, गौरीशंकर चौधरीलाई श्रम, रोजगार र दावा लामा तामाङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनीहरू पूर्वमाओवादी नेता हुन् । त्यस्तै, गणेशसिंह ठगुन्नालाई सामान्य प्रशासन, प्रेम आलेलाई वन तथा वातावरण, जुलीकुमारी महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । स्वास्थ्य सामग्री खरिद विवाद र कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै मन्त्री ढकालको आलोचना भइरहेको बेला प्रधानमन्त्री ओलीले उनको जिम्मेवार बदलेका हुन् । स्वास्थ्य मन्त्रालयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा रहेका हृदयेश त्रिपाठीलाई ल्याइएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेलाई भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको छ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षामन्त्री बनाइएको छ भने महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई कानुन मन्त्रालयमा सारिएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र उद्योगराज्यमन्त्री मोतीलाल दुगडलाई भने जिम्मेवारी मुक्त गरिएको छ ।

दाहालको साथ छाडेकालाई मन्त्री

पुष्पकमल दाहालको साथ छाडेका प्रमुख नेताहरूलाई ओलीले मन्त्रिपरिषद्मा सामेल गरेका छन् । रामबहादुर थापा गृहमन्त्री र लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा पहिलेदेखि नै मन्त्रिपरिषद्मा छन् । थापा र लामा पहिलोपटक मन्त्री भएका हुन् । थापाले एकपटक माओवादी आन्दोलनबाट बाहिरिएर नयाँ पार्टी बनाएका थिए ।

झन्डै १० वर्ष बाहिर रहेपछि उनी रामबहादुर थापासहितसँग मिलेर माओवादी केन्द्र बन्ने बेला एकीकरण प्रक्रियाबाट जोडिएका थिए । एकतापछि स्थायी कमिटी सदस्यको जिम्मेवारी पाए पनि उनी दाहालसँग असन्तुष्ट थिए । लामाले २०७४ सालको चुनावमा सिन्धुपाल्चोकबाट प्रदेशसभाको चुनाव हारेका थिए ।

साहको रोचक प्रवेश

मन्त्रिपरिषद्मा साहको प्रवेश रोचक ढंगले भएको छ । प्रतिनिधिसभा विघटनलगत्तै उनले उक्त निर्णयलाई आत्मघाती भनेका थिए । साह केही दिन दाहाल–नेपाल समूहमा लागे । उक्त समूहको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएका उनी शुक्रबार मन्त्रीका रूपमा प्रकट भए । दाहाल–नेपाल समूहको बैठकमा उनले माधव नेपाललाई अध्यक्ष बनाइएको विषयमा आपत्ति जनाएका थिए ।

उनले एकल अध्यक्ष प्रणालीमा जानुपर्नेमा जोड दिँदै आएका थिए । रौतहट जिल्लाको आन्तरिक राजनीतिमा नेता नेपालसँग टकराव गरिरहने साहले मन्त्री बन्ने भएपछि ओलीलाई साथ दिएका हुन् । प्रदेश २ मा दाहाल–नेपाल समूहमा मातृका यादव, रामचन्द्र झा, विश्वनाथ साहलगायतका प्रतिस्पर्धी नेताहरू थिए । त्यसैले पनि साह ओली समूहमा प्रवेश गरेका हुन् ।

श्रीमान्‌पछि श्रीमतीको पालो

मन्त्रिपरिषद्मा जुलीकुमारी महतोको प्रवेश पनि रोचक छ । विभाजनको पहिलो दिन उनका श्रीमान् रघुवीर महासेठ दाहाल–नेपाल समूहको बैठकमा गएका थिए । तर पछि उनीहरू दुवै ओलीकै समूहमा बसे । महासेठ यसअघि भौतिक पूर्वाधारमन्त्री थिए । उनले काम राम्रो गर्न नसकेको भन्दै आलोचना भएपछि ओलीले हटाएका थिए । अहिले उनकै श्रीमती महतोलाई ओलीले महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाएका हुन् ।

काठको ठेक्कापट्टा गर्ने नै वनमन्त्री

पूर्वएमाले समूहबाटै मन्त्री बनेका चारै जना नयाँ हुन् । वनमन्त्री बनेका आले सुरुमा माधव नेपालनिकट मानिन्थे । ओलीको पहिलो मन्त्रिपरिषद् गठनका बेला नेपाल समूहबाट उनको पनि नाम चर्चामा थियो । तर पछि नेपालले अरूकै नाम पठाएपछि असन्तुष्ट बनेका उनी विस्तारै ओलीनिकट भएका थिए । विभाजनका बेला उनले ओलीलाई साथ दिए । त्यसबापत उनले मन्त्री पद पाएका छन् ।वनमन्त्री आले आफैं काठको ठेक्कापट्टा र व्यवसायमा संलग्न व्यक्ति हुन् ।#kantipur

Next Post

युवा तथा पत्रकारहरुसङ्ग भेटघाट कार्यक्रम

११ पुष २०७७, शनिबार ०८:०८
पौष ११, दैलेख ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले जिल्लास्थित युवा तथा पत्रकारहरुसङ्ग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । देशको पछिल्लो अबस्थाको बिषयमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताइएको छ । कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापा, जिल्ला पार्टी सचिब प्रेमबहादुर कटुवाल, नेकपा कर्णाली प्रदेश कमिटी सदस्यहरु […]

सम्बन्धित