वडा अध्यक्ष सहितको टोलिद्वारा प्रहरीमाथी सांघातिक आक्रमण

  ।   ११ कार्तिक २०७७, मंगलवार ०८:४३

दिलमाया शाही 

कार्तिक ११, जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित कनकासुन्दरी मन्दिरमा सुरक्षार्थ खटिएको प्रहरी टोलीमाथि सांघातिक आक्रमण भएको छ ।

सोही गाउँपालिका-५, का वडाध्यक्ष विर्खबहादुर खत्रीसहित उनका छोरा प्रेम खत्री र दानवबहादुर बोहरालगायत ११–१२ जनाको समूहले लड्कु गाउँमा आक्रमण गरेको हो ।

सांघातिक आक्रमणबाट घाइते भएका प्रहरी जवान कमलसिंह विष्टले भने, ‘कनकासुन्दरी मन्दिरमा कोरोना संक्रमणका वेला भिडभाड कम गर्न सुरक्षार्थ खटिएका थियौँ । सुरक्षार्थ ड्युटीमा खटिएर मन्दिरबाट फर्किने क्रममा आइतबार साँझ आक्रमण भयो ।’

उनले भने, ‘एक्कासि वडाध्यक्ष खत्रीसहितको ठूलो समूह आएर बर्दी लगाएका प्रहरीमाथि सीधै आक्रमण भयो । हामी दुइ–चारजना प्रहरी मात्रै थियाैँ ।’

उनले भने, ‘ठूलो समूहमा आएपछि हाम्रो के लाग्थ्यो र ! ढुंगामुडा र लाठीले पिट्नसम्म पिटे । बेहोस नहुन्जेलसम्म पिटेछन् । अस्पताल ल्याएको पनि थाहा भएन ।’

अस्पताल ल्याएकाे दुई घन्टापछि मात्र होस आएको उनले बताए । घाइते प्रहरी विष्टका अनुसार अहिले उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

टाउकोमा पाँचवटा टाँका लगाइएको छ । छाती, नाक र दायाँ कुमको जोर्नीमा समेत गम्भीर चोट लागेको छ ।

घाइते  विष्टले दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् । यो घटनालाई कुनै पनि राजनीतिक तवरले मिलापत्र नगर्न पनि आग्रह गरेका छन् ।

प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार अहिले दुईजना प्रेम भन्ने अंकित खत्री र दानबहादुर बोहरा प्रहरीको नियन्त्रणमा छन् । अन्य व्यक्तिको खोजीकार्य जारी छ ।

Next Post

बाँकेका सिडिओलाई कोरोना संक्रमण

११ कार्तिक २०७७, मंगलवार ०८:४३
कार्तिक ११, बाके ।  बाके जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणमा निरन्तर लागिपरेका उनलाई आज संक्रमण पुष्टि भएको बताइएको छ । उनले आफुलाई संक्रमण भएको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । सामाजिक संजालमा स्ट्याटस राख्दै कुरुम्बाङले `कोरोना सङ्ग […]