दैलेख, – दैलेखदेखी जाजरकोट पुग्ने सिमा नजिक डरलाग्दो भिरहरु छन् । बाख्रा चर्न जान समेत डर लाग्दो । तर, त्यही भिरबाट अहिले राजमार्ग निर्माण भएपछि भने, विगतमा आउजाउ गर्ने स्थानीयहरु दंग परेका छन् । स्थानीयहरुले यति छिटटै यहाँ सडकको ठुलो विकास होला भनेर सोचेका पनि थिएनन् तर, सरकार नै लागे पनि हुन्छ भनेर देखे स्थानीयहरुले । दुई वर्षभित्र पुरै फराकिलो सडक कालोपत्रे हुँदैछ । प्रकृया अघि बढेर कामको चरणमा छ । दैलेख, जाजरकोट र अछामका विकट कुनाकन्दरा गाउँसंग जोडिएर बनाईएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको काम पछिल्लो वर्षमा फास्ट ट्रयाकबाट अघि बढेसंगै नागरिकमा विकासको विस्वास पलाएको छ ।
दैलेखको बेस्तडाबाट खच्चडमै सामान लिएर बेच्दै आएका जाजरकोट सुयाडका ब्यापारी खड्क विसी अहिले गाउँसम्म बसमै सामान लैजान्छन् । आफ्नै गाँउसम्म बस चलेपछि निकै खुसी भएका उनी राजमार्ग स्तरउन्नती भएको देखेर छक्क परेका छन् । उनी भन्छन् ः सरकारले चाहेमा विकास असम्भव छैन रैछ । यो डरलाग्दो भिरबाट गाडी हिड्ने भयो । महंगो भाडामा सामान ल्याएर बेच्दै आएका विसी अहिले गाडी चल्दा सामान पनि सस्तोमै विक्रि गर्छन् । गाँउसम्मै बस सेवा सुरु भएपछि उनी मात्रै होईन् दैलेख र जाजरकोटका स्थानीयहरु हर्षित छन् ।
सडक नहुँदा सुर्खेत र दैलेख सदरमुकाम जान जाजरकोट र दैलेखका स्थानीयहरु २ दिनसम्म पैदल हिड्नुपर्ने बाध्यता थियो । अहिले उनीहरु बस कुरेरै भएपनि केही घण्टामै सुर्खेत–दैलेख मुकाम पुग्छन् । बेस्तडा पुग्नुअघिको ठुलो भिर फराकिलो गराउने कार्य भईरहेको छ । स्थानीय जनक अधिकारी जगनाथबाट कालोपत्रे भएर दैलेख बजार आउँछन् । निकै सकसपूर्ण यात्रा गरेको अनुभव सम्हालेका अधिकारी अचेल ४५ मिनेटमै बेस्तडाबाट दैलेख सदरमुकाम पुग्छन् ।
बस अहिले दैलेखको मेहेलतोली र जगनाथ हुँदै जाजरकोटको साल्मस्थित सुयडा अगाडीसम्म पुग्छ । दैलेख खण्डको बेस्तडादेखी अगाडी कालोपत्रे गरिएको छ । पूर्व दैलेखको लोहोरेदेखी हुलाकटाकुरा नजिकसम्म ५ किलोमिटर किलोमिटर कालोपत्रे लोहोरेदेखी हुलाकटाकुरा शर्मा गजुरमुखी जेभीले निर्माण गरेको हो भने मौलेसालदेखी खोपोसम्म ४ किलोमिटर कालोपत्रे केएस रमण जेभीले निर्माण गरेको हो । दैलेख खण्डमा अहिले ५० किलोमिटर कालोपत्रेका लागि टेण्डर गरि काम भैरहेको सुचना अधिकारी तुलाराम शर्माले बताए । दैलेख खण्डमा लोकमार्गले १ सय २६ किलोमिटर पुष्पलाल (मध्यपहाडी) राजमार्गको लम्वाई रहेको छ । जसमा ५० किलोमिटर कालोपत्रेका लागि काम भैरहेको छ ।
पहाडी मार्ग हुँदै खनिएको राजमार्गमा विकास गति अघि बढाउने योजनाका साथ छिटो प्रगती देखाउन दु्रत गतिमा काम भैरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयका प्रमुख नारायणप्रसाद न्यूउरेले बताए । कालोपत्रेको काम भैरहेको छ बाँकी रहेको स्थानमा टेण्डर प्रकृया सुरु भईसकेको छ जसले छिट्टै प्रगती देखीनुका साथै विकास ढोका खुल्ने योजना प्रमुख न्यूउरेले बताए । ‘भिरपाखा फोडेला भनेर सोच्नसम्म सपनाजस्तै लाग्थ्यो अहिले हाम्रा घर अगाडी गाडी आउन थाले ।’ सुयाडका ब्यापारी खड्क विसीले भने, धमाधम चल्न थालेपछि जनतालाई आउजाउमा सुविधा भयो, दोवर मंहगो खाद्यबस्तुहरु पनि सस्तिएको छ ।’
दैलेख–जाजरकोट खण्डको अप्ठ्यारो भिरपाखामा मध्यपहाडी लोकमार्गले सडक छिचोलेपछि अहिले बस चलेको हो । केही वर्षअघिसम्म मोटरसाईकल चल्न समेत गाह्रो हुने असजिलो भएपछि अहिले योजनाको काम धमाधम भएकाले ठुला गाडीहरु चलेका हुन् । दैलेख र जाजरकोटका विकट गाँउबस्ती भएर अहिले सरर बस चल्न थालेपछि स्थानीयहरु राहत महशुस मात्र गरेका छैनन् । खुसीको सिमा समेत छैन् । घरअगाडी कालोपत्रे सडकमा सरर यात्रा गर्न पाएपछि स्थानीयहरुमा औधी खुसी छाएको हो । भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा फराकिलो सडक सहित कालोपत्रे भएपछि कष्टविहिन रुपमा छिटो यात्रा भईरहेको बताउँछन् । स्थानीय गाउँहरुबाट जिप तथा बस चल्न थालेपछि हिडेर यात्रा गर्ने यहाँका नागरिकहरुलाई सुविधा पुगेको छ ।
उनीहरुले यसरी बस नै चल्ला भनेर कहिल्यै सोचेका थिएनन् । ‘जहाँ पनि हिड्नुपथ्यो ।’ जगनाथका समाजसेवी जनक अधिकारीले भने, अहिले जहाँ पनि गाडी जाने गरेकाले सुविधा थपिएको छ ।’ राजमार्ग आएपछि सहायक सडकहरुले गाउँ जान झन् सजिलो गराईदिएको अधिकारीको भनाई छ । दैलेख र जाजरकोटका स्थानीयहरु मध्यपहाडी राजमार्गले सडक बनाएपछि गाडी चड्ने सपना पुरा भएको हो । ‘बाँदर हिड्ने भिरपाखा फोडेर सडक बन्यो ।’ पगनाथका स्थानीय दिपक अधिकारीले भने, ती भिरपाखा हुँदै गाँउगाँउमा बसहरु चलेपछि खुसी मात्र होईन गाडी चड्ने सपना यहाँका नागरिकलाई पुरा भएको छ ।’
मध्यपहाडी लोकमार्गसंग जोडिएका जाजरकोटका ब्यापारीहरुलाई खच्चडको झन्झटबाट मुक्ति पाएका हुन् । सडक सुधार भएमा केही महिनाभित्र दसेरा हुँदै रुकुमसम्म गाडी पुग्ने बस ब्यवसायीहरुले बताएका छन् । ‘बर्षातमा केही ठाँउमा सडक अँझै राम्रो छैन् ।’ सुर्खेत काँक्रेविहार यातायातका दैलेख सहइन्जार्च आनन्द केसीले भने, गाडी चालकको कुशलताकै कारण जाजरकोटसम्म सेवा दिएका छौ । विक्रिएको ठाँउमा तत्काल सडक सुधार गरिदिएको भए अँझ राम्रो हुन्थ्यो ।’ अहिले यो खण्डमा सुर्खेत काँक्रेविहार यातायात र अन्य यातायाका सवारी साधनहरु चल्ने गरेका छन् ।

