
महेन्द्र बिक
असोज २५ सुर्खेत ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट छिन्चु र ईलाका प्रहरी कार्यालय छिन्चुको संयुक्त आयोजना र भेरिगंगा जेसीजको सहकार्यमा चाडपर्वको समयमा यात्रुको सुविधालाई ध्यानमा राखेर छिन्चु बजारमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
दशैँ, तिहार र छठ जस्ता पर्वहरूमा यात्रुको चाप अत्याधिक बढ्ने र त्यस्तो अवस्थालाई व्यवस्थित गर्न र यात्रुलाई ठगिनबाट बचाउन यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको अस्थायी ट्राफिक प्रहरी पोष्ट छिन्चुका नि.इन्चार्ज प्रदिप रोकायले बताए।
सहायता कक्षमा कुनै प्रकारको गुनासो आए तत्काल सुनुवाई गर्ने व्यवस्था रहेको उनले बताए । ‘सवारी साधनमा हुन सक्ने यात्रुका समस्याहरू, चर्को भाडादर असुली, सामान चोरी, सामान छुट्ने, अनावश्यक चिजवस्तुहरुमा केही खुवाएर लठ्ठ बनाएर समान लुट्ने लगायतका समस्याहरू सम्बोधन गर्छौ,’ उनले भने ।
सहायता कक्षमा विद्यमान कोरोना महामारीलाई ध्यानमा राखी उक्त महामारीबाट बच्न सचेतना अपनाउने सावधानीको बारेमा जानकारी समेत गराइने छ ।
उक्त कार्यक्रम भेरिगंगा नगरपालिका १२ का वडा अध्यक्ष हरि प्रसाद कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
