
काठमाण्डौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताएका छन्।
आइतबार नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक सास्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ लोकार्पण गर्दै सभापति देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन हुन नसक्ने बताएका हुन्।
उनले अहिलेको राजनीति एकदमै तरल अवस्थामा रहेकाले भोलि जे पनि हुनसक्ने समेत बताए। नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँदै पत्रकारहरुसँग भने, ‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन्। ओली र प्रचण्डबीच द्वन्द्व देखिएको छ। तर, अहिलेसम्म माओवादीले किन समर्थन फिर्ता लिएको छैन ? यसमा शंका छ। ओली अहिले पनि सुविधाजनक बहुमतमै छन्। अल्पमतमा छैनन्। माओवादीले अविश्वासको प्रस्ताव लिएमा कांग्रेस सरकार गठन गर्न अग्रसरता लिन्छ।’
कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसावले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको साँस्कृतिक पक्षको खोज अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिए।
महतले भने, ‘यस किसिमका अनुसन्धानले नेपालको साँस्कृतिक समृद्धिमा जोड पुग्नेछ। यस्ता खोज अनुसन्धानहरुलाई नेपाली काँग्रेसले पनि उच्च प्राथमिकतामा राखेको छ।’

