पहिले र अहिले : विश्वकपको ३२ वर्षे यात्रामा के के फेरियो? टिकटको चर्को मूल्य, सहभागी टिमको ऐतिहासिक वृद्धि, रंगशाला र नियममा व्यापक सुधारसहित २०२६ को विश्वकप १९९४ भन्दा धेरै फरक हुनेछ ।

  ।   २७ जेष्ठ २०८३, बुधबार ०८:४४

सन् १९९४ मा अमेरिकाले पहिलो पटक आयोजना गरेको विश्वकपमा २४ टिम, ९ रंगशाला र औसत ६८ हजार दर्शक थिए भने, २०२६ मा ४८ टिम, १६ रंगशाला र ६०–७० लाख दर्शक हुने अनुमान छ।
२०२६ को टिकट मूल्य १९९४ को तुलनामा धेरै महँगो छ, र खेलाडी सब्स्टिच्युसन तथा वाटर ब्रेकजस्ता नियमहरूमा पनि उल्लेख्य परिवर्तन भएका छन्।
न्युयोर्क — सन् १९९४ मा अमेरिकाले पहिलो पटक फुटबलको विश्वकप आयोजना गरेको थियो । अहिले दोहोर्‍याएर २०२६ मा अमेरिकामै विश्वकप हुँदै छ । यसपल्ट क्यानडा र मेक्सिको विश्वकपको सह–आयोजकको रूपमा रहेका छन् । यही ११ जुनबाट प्रतियोगिता सुरु भएर १९ जुलाईमा सकिनेछ । यी दुई विश्वकपमा फरक चाहिँ के के रहे त ? अहिले त्यसको लेखाजोखा यस्तो छ :

टिकट मूल्य

१९९४ : पहिलो चरणका खेलको टिकट मूल्य २५ देखि ७५ डलर रहेको छ । उद्घाटन खेलको टिकट मूल्य भने ४० देखि १ सय २० डलर रहेको थियो । त्यस विश्वकपको फाइनल क्यालिफोर्नियाको रोजबलमा भएको थियो । त्यसको टिकट मूल्य थियो, १ सय ८० देखि ४ सय ७५ डलर ।

२०२६ : डिसेम्बरमा फिफाले पहिलो पटक व्यक्तिगत टिकट बिक्री गर्दा त्यसको मूल्य १ सय ४० देखि २ हजार ७ सय ३५ डलर तोकिएको थियो । यो सबै पहिलो चरणको खेलका लागि हो । फाइनलका लागि भने टिकटको मूल्य ४ हजार १ सय ८५ देखि ८ हजार ६ सय ८० डलर रहेको थियो । यसपल्टको टिकट मूल्यको निर्धारण गर्दा माग र आपूर्तिमा आधारित हुनेछ । अप्रिल पुग्दा फाइनल खेलको अधिकत्तम मूल्य १० हजार ९ सय ९० डलर राखिएको छ ।

प्रतियोगिताको आकार

१९९४ : यो विश्वकपको त्यस्तो अन्तिम संस्करण रहेको थियो, जसमा २४ टिम सहभागी रहेका थिए । १९९८ पछि मात्रै सहभागीको संख्या ३२ पुर्‍याइएको थियो ।

२०२६ : यसपल्ट विश्वकपमा सहभागीको संख्या ४८ पुर्‍याइएको छ । त्यसको अर्थ विश्वकप इतिहासमै पहिलो पटक अन्तिम १६ को चरण सुरु हुनेछ । यस्तोमा अब फाइनल पुग्ने टिमले ८ खेल खेल्नेछ, यसअघि यो सख्या ७ थियो .

मैदानको आकार

१९९४ : त्यतिबेला फिफाले तोकेको मैदानको आकार थियो, ६८ बाई १०५ मिटर । यो भनेको ७४ बाई ११५ यार्ड हो ।

२०२६ : यसपल्ट रंगशालाको आकार त्यस्तो हुनुपर्छ, जसलाई सर्वमान्य मापदण्ड मान्न सकिनेछ ।

दर्शक

१९९४ : त्यस विश्वकपले कीर्तिमान ३५ लाख ९० हजार दर्शकलाई आकर्षित गरेको छ । त्यतिबेला ५२ खेलमा औसत ६८ हजार ९ सय ९१ दर्शक रंगशालामै पुगेर खेल हेरेका थिए ।

२०२६ : यसपल्ट १९९४ को तुलनामा दर्शक दोब्बर हुनेछ, सम्भवतः ६० लाखदेखि ७० लाख ।

रंगशालाको संख्या

१९९४ : अमेरिकामा भएको पहिलो विश्वकपमा प्रयोग भएका रंगशालाको संख्या थियो, ९ । त्यसको उद्घाटन खेल सिकागोमा भएको थियो ।

२०२६ : यसपल्ट १६ रंगशाला प्रयोगमा आउने छन् । त्यसमध्ये ११ रंगशाला अमेरिकामा रहेका छन् । मेक्सिकोका तीन र क्यानडाका दुई रंगशाला प्रयोगमा आउनेछन् । क्वाटरफाइनल चरणका सबै खेल अमेरिकामा हुनेछ । यसपल्ट सिकागोमा कुनै खेल हुने छैन । यो सहरलाई विश्वकपको कुनै पनि खेल आयोजना गर्ने रुचि रहेन । यसको कारण भने फिफाले सक्दो आर्थिक सहयोग नगरेको आरोप लगाइएको छ ।

अमेरिकी रंगशाला

१९९४ : त्यस प्रतियोगितामा एनएफएलका पाँच रंगशाला प्रयोगमा आएको थियो । त्यसमध्ये तीन रंगशालाको त अब अस्तित्व समेत रहेको छैन ।

२०२६ : यसपल्ट अमेरिकामा प्रयोग हुने सबै ११ रंगशाला एनएफएलकै हो । १९९४ मा प्रयोग भएका कुनै पनि रंगशाला यसपल्ट प्रयोगमा आउने छैनन् ।

वाटर ब्रेक

१९९४ : जत्तिकै गर्मी र उच्च आद्रताको स्थिति रहे पनि खेल निरन्तर जारी रहने गरेको थियो ।

२०२६ : यसपल्ट मौसम गर्मीकै हुनेछ । आद्रता पनि उच्च रहनेछ । त्यसैले प्रत्येक हाफमा तीन मिनेटको विश्राम हुनेछ । टिमले यसलाई रणनीतिक परिवर्तनका लागि पनि प्रयोग गर्न सक्छन् ।

सब्स्टिच्युसन

१९९४ : त्यस विश्वकपमा दुई जना मात्र खेलाडी सब्स्टिच्युसन गर्न पाइन्थ्यो । सन् १९९० मा यो नियम पहिलो पटक लागू भएको थियो । गोलरक्षक घाइते भएमा तेस्रो खेलाडी पनि सब्स्टिच्युसन गर्न सकिन्थ्यो । यो नियम गोलरक्षकले रातो कार्ड खाएमा लागू भएको थियो । १९९८ आएपछि मात्र तीन खेलाडीको सब्स्टिच्युसन नियम लागूमा आएको थियो । २०१८ मा खेल अतिरिक्त समयमा गएमा चौथो खेलाडीको सब्स्टिच्युसनको नियम पनि आएको थियो ।

२०२६ : २०२२ देखि एउटै खेलमा पाँच खेलाडी सब्स्टिच्युसन गर्न पाइने भएको थियो । अतिरिक्त समयमा छैटौं खेलाडीको सब्स्टिच्युसन पनि गर्न सकिने भएको थियो । यस्तै मस्तिष्कघात भएको स्थितिमा एक अर्को खेलाडी पनि सब्स्टिच्युसन गर्न सकिनेछ ।

कान्तिपुर बाट  साभार

Next Post

सुर्खेतमा बैंकिङ कसूर मुद्दाका एक जना पक्राउ

२७ जेष्ठ २०८३, बुधबार ०८:४४
सुर्खेत — बैंकिङ कसूर (चेक अनादर) मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले प्रतिवादीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पक्राउ पर्नेमा भेरीगंगा नगरपालिलका […]

सम्बन्धित