आजदेखि आन्तरिक हवाई सेवा नियमित

  ।   ५ आश्विन २०७७, सोमबार ०७:१४

काठमाडौं । आजबाट आन्तरिक हवाई सेवा नियमित भएका छन् ।

नेपालमा सेवा दिइरहेका विभिन्‍न नौवटा कम्पनीमध्ये आठवटाले आजबाट सेवा सुरु गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिन पछि सुरु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवेन्द्र केसीले विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको कोरोनासम्बन्धि बनाएको प्रोटोकल पालना गर्ने गरि‍ आजबाट सेवा सञ्‍चालन सुरु भएको बताए ।

वायुसेवा कम्पनीहरुले नियमित सेवा सञ्‍चालन भएको समयमा पाएको उडान अनुमतिका आधारमा २५ प्रतिशत मात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि प्रमुख केसीले जानकारी दिए । विमान सेवा प्रयोग गर्ने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ्य भएको स्वयं घोषणापत्र भर्नु पर्नेछ । नयाँ व्यवस्थाअनुसार उडान सयमभन्दा कम्तीमा दुई घण्टाअघि नै विमानस्थल पुग्नु पर्नेछ भने हाते झोल र अत्यावश्यक सामान मात्र लैजान पाइनेछ । विमानस्थल सेवा सञ्‍चालन भएको पहिलो दिन यात्रुको चाप उल्लेख्य देखिएको छ ।

आज देशका विभिन्‍न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइएको पनि विमानस्थल प्रमुख केसीले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगमलाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ । सौर्य एयरलायन्सको विमान मर्मतमा रहेकाले उडान अनुमति पाएको छैन ।

तर तारा एयरले नेपालगन्‍ज बेस भएर विभिन्‍न ४ उडान भर्नेछ ।आज उडान अनुमति पाएका विमानहरुले भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, लुक्ला, फाप्लुलगायत स्थानहरुमा उडान भर्नेछन् ।

Next Post

यो हो संसारकै ठूलो चकलेट संग्रहालय

५ आश्विन २०७७, सोमबार ०७:१४
काठमाडौं । दुनियामा विभिन्न खालका संग्रहालयहरु छन् । तपाईंले विभिन्न ऐतिहासिक, पुरातात्विक तथा महत्वपूर्ण वस्तुहरु संग्रहित गरिने म्युजियमहरुका बारेमा त सुन्नुभएकै होला । तर के चकलेट म्युजियमका बारेमा सुन्नुभएको छ ? हालैमात्र स्विजरल्याण्डको ज्यूरिच सहरमा चकलेट संग्राहलय खुलेको छ । गत सेप्टेम्बर १३ मा उक्त म्युजियम सञ्चालनमा आएको हो । […]