बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सदन अवरोध हुनुको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताए।
उनले भने,’प्रधानमन्त्रीको त्यो अभिव्यक्ति रेकर्डबाट नहटाउँदासम्म संसद्को कारबाही अगाडि बढ्न सक्दैन। देश पहिला हो, देशको स्वाधीनता प्रमुख कुरा हो।’
यस्तै, उनले रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएमा र सभामुखले प्रधानमन्त्रीले बोलेको वक्तव्यलाई संसद्को अभिलेखबाट हटाउने रुलिङ गरेमा मात्र समस्या समाधान हुने बताए।
यस्तै, उनले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले दिएको वक्तव्यमा सहमत नहुने बताए।
प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण केही दिनदेखि अवरुद्ध सदनमा बुधबार परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिएसँगै बजेटमाथि सैद्धान्तिक छलफलको बाटो खुलेको हो।
