दाङ राजधानी बनेको खुसियालीमा बाजागाजा सहित दीपावली

  ।   २१ आश्विन २०७७, बुधबार ०७:४७

२१ असोज, काठमाडौं ।

लुम्बिनी प्रदेशको राजधानी दाङ बनेको खुसियालीमा दंगालीले बाजागाजासहित र्‍याली निकालेर खुसियाली मनाएका छन् । उनीहरुले प्रदेशसभाको निर्णयको स्वागत गर्दै जिल्लाभर दीपावली पनि गरे । नागरिकस्तरबाट भालुबाङ, लमही, घोराही, तुलसीपुर, नारायणपुर, बिजौरी, पुरन्धारा, गढवा, गोबरडिहा लगायतका स्थानमा दीप प्रज्ज्वलन गरिएको थियो । प्रदेश राजधानी रहने भनिएको देउखुरी उपत्यकाको भालुबाङमा सबैभन्दा ठूलो उत्साह थियो । स्थानीयवासी एकैठाउँ भेला भएर कोरोना संक्रमणको जोखिमको बेवास्ता गर्दै बाजागाजासहित नाचगान गरेका थिए ।

प्रतिनिधि सभा सदस्य गंगा थारु, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेललगायतले राजधानी घोषणाको निर्णयको स्वागत गर्दै मुख्यमन्त्री र प्रदेशसभा सांसदहरुलाई धन्यवाद दिए । उनीहरुले यो निर्णय प्रदेशका सबै नागरिकका लागि न्यायपूर्ण रहेको बताए ।

दाङ प्रदेश राजधानी घोषणा भएको खुसियालीमा नेकपा दाङले आयोजना गरेको द्वीप प्रज्ज्वलन कार्यक्रमलाई पूर्वसभामुख ओनसरी घर्तीले सम्बोधन गरेकी थिइन् । उनले दंगाली र सिंगो प्रदेशवासीलाई बधाई दिइन् । यस्तै उद्योग वाणिज्य संघ, राजनीतिक दलका युवा तथा विद्यार्थी संगठनहरुले पनि स्वागत र्‍याली निकालेका थिए ।

तुलसीपुरवासीले विरेन्द्रचोकमा दीपावली गरेका थिए । सो कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्रबहादुर राउतले उद्योगी व्यवसायीहरुले उठाउँदै आएको मागको ढिलै भए पनि सम्बोधन भएको भन्दै खुसी व्यक्त गरे ।

प्रदेशसभा बैठकबाट दाङ राजधानी र प्रदेशको नाम लुम्बिनी पारित भएलगत्तै दंगालीले ठाउँ–ठाउँमा राष्ट्रिय झण्डा, नेपालको अद्यावधिक नक्सा र ब्यानर बनाएर खुसियाली मनाए भने बेलुकीपख घरमा र चोकहरुमा दीपावली गरेका थिए ।

मंगलबार प्रदेश ५ को प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । यसअघि प्रदेश मन्त्रिपरिषद बैठकले देउखुरी उपत्यकामा पर्ने राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ ले चर्चेको भूभागमा प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेको थियो ।#अनलाइनखबर

Next Post

ट्राफिक प्रहरी पोष्टहरुमा समेत यात्रु सहायता कक्ष स्थापना

२१ आश्विन २०७७, बुधबार ०७:४७
मनोज डाँगी असोज २१ । नजिकिदै गरेको वडा दशै, दिपावली तथा छठ पर्वको अवसरमा हुने यात्रु बर्गहरुको चापलाई व्यवस्थित गर्न सिमा नाकाहरुमा यात्रुहरु माथि  दुर्ब्यवहार हुन नदिनको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुहरुलाई आवत जावतमा सहज वातावरण मिलाउन,सार्वजनिक यातायातका सवारीहरुमा यात्रुहरुलाई हुन सक्ने हैरानी, बढी भाडा अशुली […]