
गोबिन्दराज रेग्मी
असार-११, दैलेख ।
दैलेखमा भ्रष्ट्राचार विरूद्ध कविता वाचन कार्यक्रम गरिएको छ । सोमबार दैलेख बजारस्थित नारायण क्याम्पसमा भ्रष्ट्राचार विरुद्ध कविता वाचन कार्यक्रम गरिएको हो ।
बागेश्वरी असलशासन क्लब (बास नेपाल) दैलेख शाखाको आयोजनामा भएको कार्यक्रममा ४ जना स्रष्टाहरुले भ्रष्ट्राचार बिरुद्ध कविता वाचन गरेका थिए। बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नारायण क्याम्पस दैलेखका प्रमुख नर बहादुर शाही रहेको आयोजक संस्थाका सह-सचिव बविता प्याकुरेलले जानकारी दिएकी छन् ।
कार्यक्रममा बोल्दै प्रमख अतिथि क्यामपस प्रमुख शाहीले आफू जहाँ छौँ त्यहीँबाट भ्रष्ट्राचार विरुद्ध अभियान चलाउनुपर्ने बताए । भ्रष्ट्राचार भनेको अवैध पैसा कमाउनु मात्र नभइ काम ठग्ने पनि भ्रष्ट्रचार हो । उनले भने `कुनै विद्यार्थीले चिट चोरेको बेलामा शिक्षकले चिनेजानेको भरमा विद्यार्थीबाट चिट नतान्ने हो भने त्यहाँ पनि भ्रष्ट्राचार भएको मान्न सकिन्छ´ । उनले बास नेपालले भ्रष्टाचार विरुद्ध चलाएको अभियानमा सबैले साथ दिनुपर्ने भन्दै कविता वाचन कार्यक्रम क्यामपसमा गरेकोमा बास नेपाललाई धन्यवाद दिएका थिए ।
कार्यक्रमको समापनमा बोल्दै बास नेपाल जिल्ला शाखा दैलेखका अध्यक्ष हिक्मत बुढाले भ्रष्ट्राचार न्यूनिकरण अभियानमा सबैले साथ दिनुपर्ने बताए । उनले भ्रष्ट्राचार कम गर्न बास नेपालले विभिन्न कार्यक्रम गर्दै आएकोले सबैको साथ पाए आउँदा दिनहरुमा अंझै सशक्त रुपमा लाग्ने धारण राखे ।
उक्त कार्यक्रममा कविता वाचन गर्ने ४ जनालाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको संचालन बास नेपाल दैलेखका सदस्य एवं साहित्यकार जंग बोगटीले गरेका थिए ।

