
काठमाडौ ।
सरकारले देशभर जारी निषेधाज्ञा खुकुलो बनाउदै लैजाने तयारी गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी गरिएको निषेधाज्ञाको मोडालिटी हेरफेर गर्न सरकारले आन्तरिक छलफल अघि बढाएको हो । गृह मन्त्रालयले विभिन्न मन्त्रालयका सुझाव एवं ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निषेधाज्ञालाई खुकुलो बनाउने तयारी गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले खेतीपाती, विकास निर्माण तथा दैनिक उपभोग्य वस्तुको किनबेचमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर नागरिकलाई आवागमन सहज हुने गरी निषेधाज्ञा खुकुलो बनाउने विषयमा छलफल भैरहेको बताए । यसका लागि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूसँग जिल्लागत वस्तुस्थिति र जोखिमबारे बुझ्ने काम गरिरहेको उनले जानकारी दिए ।
धेरैजसो जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञा लगाइएको छ । आर्थिक वर्षान्त नजिकै आएका कारण पनि विभिन्न पेसा–व्यवसायमा आबद्धले आर्थिक कारोबार फरफारक गर्नुपर्ने देखिएर आवागमनलाई लचिलो बनाउनुपर्नेमा गृह मन्त्रालय सकारात्मक देखिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरले राजधानीभित्रका वर्कसप, खाद्यपसल, पुस्तक पसल, सुपरमार्केट लगायतलाई शुक्रबारबाट बिहान ९ बजेसम्म खुला रहने आदेश जारी गरिसकेका छन् ।
धेरै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनिश्चितकालसम्म निषेधाज्ञा लम्ब्याउने पक्षमा आफूहरु नहरेको बताएको गृह मन्त्रालयले जनाएको छ । यसलाई क्रमशः कसरी खुकुलो गर्न सकिन्छ भनेर गृह र स्वास्थ्य मन्त्रालयसँग छलफल र परामर्श भैरहेको पनि प्रबक्ता दाहालले बताए ।

