यो बर्ष सरदरभन्दा बढी वर्षा हुने

  ।   २३ बैशाख २०७८, बिहीबार ०९:२४

काठमाण्डौ, २३ बैशाख ।

यसपालिको मनसुनको समयमा देशका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका धेरैजसो ठाउँ तथा प्रदेश नं १ को मध्य तथा पश्चिम क्षेत्रमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान गरी सार्वजनिक गरेको हो । औसतभन्दा बढी वर्षाले देशमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीव्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ ।

वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलका अनुसार यस अघिका वर्षमा बाढी पहिरोले क्षति पुर्याएको जमिन र भूकम्पले असर गरेको क्षेत्रमा बाढी पहिरोको जोखिम धेरै छ । लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी क्षेत्रमा सरदर वर्षा ३५ देखि ४५ प्रतिशत हुने, र प्रदेश १ को तराई र प्रदेश नं २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । यसपालि आउँदो जेठ १८ देखि नेपालमा मनसुन भित्रिँदै छ । यसको अवधि असोज १४ सम्म रहनेछ । गएको वर्ष मनसुन सुरु भएको दिनदेखि नै भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो ।

विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूप, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनको आधारमा यसपालिको मनसुनमा सरदर भन्दा धेरै वर्षा हुने जनाएको हो।

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको अहिलेको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आकलन, यूरोप तथा एसियामा गएको हिउँद तथा प्रि-मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशिलताका कारकलाई समेत मध्यनजर गरी त्यस आकलन तयार पारिएको हो ।

यसरी आकलन निर्माणका लागि यही वैशाख १५ गते दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको भर्चुअल बैठक भएको थियो । त्यसमा नेपाल, भारत, म्यानमारलगायत ९ देशका मौसमविद्को सहभागिता थियो । विज्ञले दक्षिण एसियाका धेरै देशमा नै मनसुनका अवधिमा सरदरभन्दा बढी वर्षा हुने निष्कर्षका साथ साझा दृष्टिकोण सार्वजनिक गरेका छन् ।

Next Post

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ डिस्चार्ज

२३ बैशाख २०७८, बिहीबार ०९:२४
  २३, वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ […]

सम्बन्धित