बुवाले गराइदिए छोराको चौरासी पूजा

  ।   १५ कार्तिक २०७७, शनिबार ०६:४७

कार्तिक १५, नवलपरासी ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का एक बुवाले छोराको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन्।

बुवाले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ। सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको शुक्रबार चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए।

बुवाले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई बुवा केशवराजसँग आशीर्वाद लिइरहेका थिए। चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताए।

बुवा केशवराज अहिले पनि स्वस्थ्य छन्। खेतीपातीमै जीवन बिताएका बुवालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उनका साहिँला छोरा हरिप्रसादले बताए।

केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा बाबुराम छन्।

छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ, सुखी र खान पुगोस् भनी आशीर्वाद दिएका छन्।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुसी लागेको छोरा दधिरामले बताए। रासस

Next Post

कोरोनाबाट मृत्यु हुनेको तथ्यांक फरक-फरक

१५ कार्तिक २०७७, शनिबार ०६:४७
कार्तिक १५, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले […]