मुगुमा काङ्ग्रेस कम्युनिस्टका छुट्टाछुट्टै घट्ट

  ।   १२ मंसिर २०७७, शुक्रबार १७:२३

मंसिर १२, मुगु ।

मुगु जिल्लाको एक गाउँमा कांग्रेस पक्षले अन्न पिस्न नदिएपछि कम्युनिस्ट पक्षले छुट्टै घट्ट बनाएका छन् । फरक राजनीतिक आस्था भएकै कारण घट्टमा अन्न पिस्न पनि विभेद गरिएको हो ।

राजनीतिक दल र विचार नमिलेपछि छायाँनाथ रारा नगरपालिका–६, स्थित लिउडी गाउँमा कांग्रेस र कम्युनिस्टले अलग-अलग पानीघट्ट निर्माण गरेका छन्। भने गाउँमा बहुमत र अल्पमतको आधारमा भौतिक पूर्वाधार बनाउन थालिएको छ ।

२७ घरधुरी रहेको सो गाउँमा कांग्रेसको बहुमत छ। त्यहाँ कांग्रेस समर्थक १९ घरधुरी छन् भने कम्युनिस्ट समर्थक ८ घरधुरी मात्रै छन्। गाउँमा रहेको पुरानो पानी घट्ट आफूहरूको रहेको भन्दै कांग्रेस पक्षधरले कम्यूनिष्ट पक्षधरलाई घट्ट पिस्न दिएका छैनन् । कांग्रेस पक्षले घट्टमा अन्न पिस्न नदिएपछि छुट्टै घट्ट निर्माण गर्न बाध्य भएको कम्युनिस्ट पक्षधरको भनाइ छ ।

केन्द्र, प्रदेश र अधिकांश स्थानीय तहमा नेकपाको बहुमत भएपनि लिउडी गाउँमा भने कांग्रेसको बहुमत छ । कांग्रेस पक्षधरको बहुमत भएपछि आफूलाई फरक व्यवहार हुने गरेको नेकपा पक्षधर बताउँछन्।

तर ‘जिल्लाका अन्य गाउँमा यस्तो खालको राजनीति छैन । साथै यस गाउँमा हुने कुनै पनि आयोजनाको काममा नेकपा पक्षलाई सहभागी हुन नदिने चलन छ । गत वर्षमात्र प्रदेश सांसद विकास कोषबाट नेकपाका एक सांसदले सो गाउँलाई दिएको खानेपानीको योजनासमेत कांग्रेस समर्थकले रद्द गरेका थिए ।

गाउँको पुरानो घट्ट कांग्रेसले आफूहरूको भएको भन्दै अन्न पिस्न नदिएपछि डेढ घण्टा हिँडेर नेकपा पक्ष कोटिल्ला गाउँको घट्ट पुग्न बाध्य थिए । हाल कम्यूनिष्ट पक्षले घट्ट बनाएपछि उक्त बाध्यता अन्त्य भएको नेकपा समर्थक रामकुसम सेजुवालले बताइन्। उनका अनुसार कम्युनिस्टले बनाएको घट्टमा कांग्रेसलाई पनि पिस्न नदिने रणनीति छ ।

कांग्रेस पक्षधर प्रेम सेजुवालले कम्युनिस्टहरूले हरेक काममा विरोध मात्र गर्न थालेपछि बाध्य भएर अलग-अलग घट्ट बनाउनु परेको बताए । यता वडाध्यक्ष हर्कबहादुर ऐडीले कांग्रेस र नेकपा समर्थकले आ-आफ्नै घट्ट निर्माण गरेको बारे आफूलाई जानकारी नभएको बताए। #nepaliraibar.com

Next Post

ताइवानको संसदमा हंगामा, प्रधानमन्त्रीमाथि नै सुँगुरको मासु फालियो

१२ मंसिर २०७७, शुक्रबार १७:२३
एजेन्सी । राज्य संचालनको लागि कानुन बनाउने संसदमा हुने कतिपय हर्कतले नागरिकलाई हैरान बनाउने गर्छ । कहिले काँही नेपालको संसदमा पनि हंगामा हुने गरेको छ । तर नेपालमा मात्र होइ अन्य मुलुकका संसदमा पनि कहिले काँही हंगामा हुन्छ । त्यस्तै ताइवानको संसदमा सत्तारुढ र विपक्षी सांसदहरुबीचको हंगामा हेर्न लायक छ […]