चुनावी परिणाम स्वीकार गर्ने कि नगर्ने ? ट्रम्प परिवार नै बिबादित

  ।   २४ कार्तिक २०७७, सोमबार १७:३६

एजेन्सी/ वासिङटन ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनाव हार्दा विक्षिप्त देखिएका छन् । यतिसम्म कि, उनी चुनावी नतिजा स्वीकार गर्न तयार छैनन् ।

अनपेक्षित पराजयले ट्रम्प दुखी र क्रोधित त भए नै उनको परिवारभित्रको सानो समूहमा पनि विभाजन देखिएको छ । २०२० को चुनावी नतिजा स्वीकार गर्ने सवालमा नै उनीहरुबीच मतभेद सुरु भएको छ । ट्रम्पकी पत्नी मेलानिया र ज्वाइँ जेर्ड कुसनरले राष्ट्रपति ट्रम्पलाई चुनावी नतिजा स्वीकार गर्न सल्लाह दिएका छन् । तर ट्रम्पका जेठी पत्नीतर्फका दुई छोराले लडाइँ जारी राख्न सुझाव दिएका छन् ।

कुस्नर ट्रम्पका ज्वाइँ र वरिष्ठ सल्लाहकार पनि हुन् । जसले ट्रम्पलाई पराजय स्वीकार गर्न सल्लाह दिएको अमेरिकी मिडियाले जनाएका छन् । यस्तै मेलानियाले पनि अब पराजय स्वीकार गर्ने बेला आएको भन्दै सुझाव दिएको कुरा विभिन्न स्रोतको हवाला दिँदै सिएनएनले जनाएको छ ।

ट्रम्पको पराजयसँगै उनकी पत्नी मेलानियाले अब सम्बन्ध बिच्छेद गर्ने तयारी गरेको समेत केही मिडियाको दावी छ । डेलीमेलले मेलानिया निकट स्रोत देखाउँदै उनीहरुको सम्बन्ध केही वर्षयता बिग्रिरहेको र अब सम्बन्ध बिच्छेदको मनस्थितिमा पुगेको जनाएको छ ।

यसैबीच ट्रम्पका दुई वयष्क छोरा डोनल्ड जुनियर र एरिकले सल्लाहकारहरुलाई दबाब कायम राख्न सुझाव दिएका छन् । साथै उनीहरुले रिपब्लिकन पार्टी र समर्थकहरुलाई सार्वजनिक रुपमै चुनावी नतिजा अस्वीकार गर्न आग्रह गरेका छन् ।

स्रोत उल्लेख गर्दै अमेरिकी मिडियाले लेखेका छन् कि, ट्रम्पको अभियान समूहको उद्देश्य भनेको सार्वजनिक रुपमा परीणामबारे अन्योल र आशंका पैदा गर्नु रहेको छ । साथै खुला छानविनका लागि दबाब दिन पनि उनीहरु प्रयासरत छन् ।

चुनावी नतिजाबाट रिपब्लिकनका धेरै नेता तथा समर्थक पनि दुखी बनेका छन् । उनीहरुमध्ये केहीले ट्रम्पलाई कानुनी लडाइँका लागि पनि सुझाव दिएका छन् । नतिजा अस्वीकार गर्नु भन्दा बरु कानुनी लडाइँमा जानु उचित भएको उनीहरुको सल्लाह छ ।

Next Post

सर्वोच्चकाे फैसला पछि कोरोना परीक्षण र उपचार अब निःशुल्क हुने

२४ कार्तिक २०७७, सोमबार १७:३६
कार्तिक २५, काठमाडौ । चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड–१९ बाट संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सोमबार उक्त निर्णय गर्दै यससम्बन्धी तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको एक मन्त्रीले जानकारी दिए । ‘प्रस्ताव स्वास्थ्य मन्त्रालयले गरेको हो, परीक्षण र उपचार निःशुल्क गर्नेसम्बन्धी विस्तृत खाका […]