मनोज डाँगी
कार्तिक १४, दाङ ।
दाङको तुलसीपुरमा ४५ वर्षका कुमार विकलाई आक्रमण गरी खुट्टा काटिदिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ का २२ बर्षिय पवन चौधरी र वडा नम्वर १० पड्डा बस्ने २४ बर्षिय अमृत चौधरीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय तुलसीपुरले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उनीहरुले अपराध स्वीकार गरीसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए । उनीहरुले दशैंको दिन राति पौने दश बजे तुलसीपुर उपमहागनरपालिका–११ नवलपुर निबासी ४५ बर्षका विक माथि धारिलो हतियारले आक्रमण गरेका थिए । उनीहरुको आक्रमणबाट विकको बायाँ खुट्टा काटिदिनुको साथै शरिरमा गहिरो चोट लागेको थियो । घाईते विक दशै टिकाको दिन तुलसीपुर १० टरिगाउँस्थित आफनो भान्जाको विवाह भोज खाएर घरतर्फ फर्कदै गर्दा उनीहरुले राती गोलौरामा एक्कासी आक्रमण गरेका थिए ।
सोहि दिन गोलौराको एक घरमा दशैं रमाईलो भईरहेको समयमा स्थानीयहरुबीच विवाद हुँदा एक जना माथि कुटपिट भएको घटनालाई लिएर उनीहरुले विक माथि आक्रमण गरेको डिएसपी सिंहले बताए । घाइते बिकको अहिले भारतको लखनउमा उपचार भइरहेको छ ।

