विद्यालयका शिक्षक कि ? पार्टीका कार्यकर्ता ?

  ।   २५ आश्विन २०७७, आईतवार ०७:२८

रमेश सुनार ।
कालीकोट जिल्लामा विभिन्न स्थानीय तहमा स्रोत व्यक्तिका रुपमा काम गर्दै आएका शिक्षकलाई नागरिकले शिक्षक हुन या पार्टीका कार्यकर्ता हुन् भनि ठम्याउन गाह्रो परेको छ । आफ्नो काम कर्तव्य र अधिकारलाई विर्सेर स्रोत व्यक्तिहरु सक्रिय राजनीतिमा लागेपछि यहाँका नागरिकलाई ठम्याउन गाह्रो भएको हो ।
अहिले सामुदायिक विद्यालयको शिक्षा किन सुध्रेन ? भनेर प्रश्न गर्ने हो भने अधिकांशको पहिलो उत्तर हुन्छ, शिक्षकले गर्ने चरम राजनीति र कामचोर व्यवहार । यी दुवै कुरा शिक्षाको सुधारको नीतिसित प्रत्यक्ष जोडिएका छन् । सामुदायिक विद्यालय सुधारको अभियानमा लागेकाहरु नै सक्रिय राजनीतिमा लागे भने शिक्षाको अवस्था कस्तो होला ? नागरिकको प्रश्न यहाँ छ । विद्यालय, विद्यार्थी, शैक्षिक स्तर र सिकाइ सुधारको मेरुदण्ड शिक्षक हो । मेरुदण्ड नै ठिक भएन भने मेरुदण्डले अड्याएको शरिरको अवस्था कस्तो होला सोच्ने समय आएको छ । कालीकोट जिल्लामा शिक्षाको गुणस्तर दिनानुदिन खस्कदै गएको छ । शिक्षाको गुणस्तर बृद्धिमा सवैको हातेमालो आवश्यक पर्छ तर यहाँ शिक्षाको सम्पूर्ण जिम्मेवारी पाएका स्रोत व्यक्ति नै विभिन्न पार्टीको झण्डा बोकेर गाउँ अभियानमा लागेका छन् ।
अहिले विश्वव्यापी रुपमा कोरोना भाईरस (कोभिड-१९) ले ७ महिनादेखि विद्यार्थी विद्यालय भन्दा बाहिर छन् । बैकल्पिक शिक्षा दिन सरकारले अनुरोध गरेका बेला शिक्षक भने पार्टीको प्रचार प्रसारमा हिँड्नु कत्तिको उपयुक्त होला ? जिल्लाको नरहरिनाथ गाउँपालिकाका स्रोत व्यक्ति रत्नसिंह साउद अहिले पार्टीको कार्यक्रममा नै व्यस्त देखिन्छन् । उनी शिक्षाको गुणस्तर बृद्धि गर्नमा भन्दा पनि राजनीतिबाट कसरी लाभ लिन सकिन्छ भन्ने तरखरमा पार्टीको विभिन्न कार्यक्रममा सहभागि हुन भ्याई-नभ्याई छ । राजनीतिक नियुक्तिका आधारमा स्रोत व्यक्ति भएकाले पार्टीको प्रचार-प्रसार बाहेक शिक्षामा ध्यान दिन छोडेको नरहरिनाथ गाउँपालिकाका स्थानीय नागरिक बताउछन् । उनले अहिले नेकपाका कुन ठाउँमा कार्यक्रम भयो त्यो ठाउँमा अनिवार्य पुुग्ने गरेका छन् ।
नेपाल शिक्षकसंघका सचिव बुद्धिसिंह विष्ट काँग्रेसको कार्यक्रममा सक्रिय हुने गरेका छन् । उनले आफ्नो दायित्व विर्सेर पार्टीको कार्यक्रममा निरन्तर सहभागि हुन थालेका छन् । त्यस्तै पचालझरना गाउँपालिकाका स्रोत व्यक्ति नमराज शाही पनि विद्यार्थीको चिन्तामा भन्दा पार्टीको चिन्तामा बढी देखिन्छन् । उनले पनि आफ्नो काम कर्तब्य र अधिकार विर्सेर पार्टीको कार्यक्रममा बढी जसो व्यस्त देखिदै आएका छन् । रास्कोट नगरपालिकाका स्रोत व्यक्ति प्रभुलाल न्यौपाने पनि पार्टीको कार्यक्रममा सक्रिय रुपमा लागेको नागरिकले गुनासो गरेका छन् ।
कालीकोटमा अध्यापन गराउने शिक्षकलाई विद्यालय बन्द भएको बेला भन्दा पनि विद्यालय बन्द गरेर भएपनि राजनीतिक पार्टीको कार्यक्रममा संक्रिय हुन भ्याइ-नभ्याई हुने गरेको छ । जिल्लाको शुभकालीका गाउँपालिकामा स्रोत व्यक्तिको काम नेकपाका जिल्ला कमिटी सदस्य पुष्पराज आचार्यले गर्दै आएका छन् । राजनीतिक दलका सक्रिय कार्यकर्ता गाउँपालिकाको स्रोत व्यक्ति भएभने शिक्षाको अवस्था कस्तो होला अनुमान गर्न सकिन्छ । गुणस्तरीय शिक्षामा स्थानीय तहको प्रयास राम्रो भएपनि शिक्षाको गुणस्तर बृद्धि गर्ने शिक्षक नै पढाउन छोडेर राजनीति गर्न थालेपछि विद्यार्थीको भविष्य अन्योलमा पर्ने स्वभाबिकै भएको जानकारवाला बताउछन् । यस्तै, जनप्रभात माविका प्रअ पदमबहादुर मल्ल, मोतिराम माविका प्रअ विस्नुप्रसाद आचार्य, मानबहादुर रोकाया, शिक्षक दिनेश शाही, जनप्रभात माविका प्रअ निर्मलकुमार विष्ट, पञ्चदेवल माविका प्रअ सर्वराज बम, सुरेन्द्र शाहीलगायत अधिकाँश शिक्षकले राजनीतिक पार्टीका झण्डा बोकी हिड्ने गरेका छन् ।

Next Post

चन्दननाथ नगरपालिकाकी मेयरलाई कोरोना संक्रमण

२५ आश्विन २०७७, आईतवार ०७:२८
असोज २५, जुम्ला । चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललाई कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शनिबार उनको रिपोर्ट पोजिटिभ आएको हो । गत केहिदिन देखि होम आइसोलेशनमा बसेकी उनलाई सामान्य रुघाखोकी बाहेक खासै ठूलो समस्या नदेखिएको बताइएको छ ।