
असोज २२, जाजरकोट ।
जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या सात पुगेको छ । विहीबार जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले दिए ।
घटना स्थलमा बुधवार नै वडा अध्यक्षसहित ६ जनाको शव भेटिएको थियो । जुनीचाँदे गाउँपालिका–११ का वडा अध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृतीबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही, ३० वर्षीय खिम बहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्ण बहादुर शाहीको बुधवार शव भेटिएको थियो ।
मृतकका आफन्तहरुले अझै शव उठाउन दिएका छैनन् । उनिहरुले दुर्घटनाका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा उच्च स्तरीय छनबिन समिती गठन गर्नुपर्ने, मापदण्ड विपरित सड्क खन्नेलाई कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, चालकलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै शव उठाउन नदिएका हुन् । चालकको लापरबाही र मापदण्ड विपरीत सडक खनेका कारण जिप दुर्घटनामा परेको उनीहरुको भनाइ छ । उनिहरुले गाडी चालक गोर्खबहादुर बस्नेतको घर र पसलमा आगो लगाइदिएका छन् ।
हिजो सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जाने क्रममा भे १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो जुनीचाँदे गाउँपालिका–२ स्थित औलखोलामा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइते भएका नरबहादुर बुढाको भने सुर्खेतस्थित देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

