सुडानमा २४ घण्टे युद्धविराम सकिएको १० मिनेटमै सुरु भयो भिडन्त

  ।   २९ जेष्ठ २०८०, सोमबार ०७:५१

एजेन्सी / सुडानको राजधानी खार्तुममा २४ घण्टे युद्धविरामको अन्त्यपछि आइतबार देखि गोलाबारी र गोली हानाहान पुनः सुरु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

गत अप्रिलको मध्यदेखि उत्तरपूर्वी अफ्रिकी देशमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज    (आरएसएफ) को नेतृत्व सम्हालिरहेका उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोको समूहबीच आपसी भिडन्त भएको थियो।

युद्धविराम सम्झौताको पछिल्लो शृङ्खलाले राजधानी खार्तुममा फसेका सर्वसाधारणलाई बाहिर जान र खाद्यान्न तथा अन्य आवश्यक सामग्री भण्डारण गर्न मौका दिएको छ।

स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको युद्धविरामको अवधि सकिएको १० मिनेटपछि नै राजधानीमा पुनः गोलाबारी र झडप भएको प्रत्यक्षदर्शीले एएफपीलाई बताएका छन्।

खार्तुम र यसको उत्तरमा रहेको ओमदुरमान शहरमा भीषण गोलाबारीको आवाज सुनिएको र राजधानीको दक्षिणमा रहेको प्रमुख मार्ग अल–हवा स्ट्रिटमा पनि भिडन्त सुरु भएको अधिकारीहरूले बताएका छन्।

दक्षिण खार्तुमका बासिन्दा नासरुद्दीन अहमदले भने, ‘एक दिनको मौनता ‘सपना जस्तै’ थियो जुन २४ घण्टा बित्दा नबित्दै अन्त्य भएको छ।’

राजधानीको उत्तरी उपनगरमा बस्ने अस्मा अल–रिहले ‘रकेट र गोलाहरूले घरका भित्ताहरू हल्लिने आतङ्कको पुनरागमन’ मा दुःख व्यक्त गरे।

खार्तुमस्थित यार्मुक सैन्य केन्द्र नजिकै रहेको अल–शाजारा तेल तथा ग्यास केन्द्रबाट लगातार पाँचौं दिनसम्म धुवाँको मुस्लो निस्किरहेको छ।

संयुक्त राज्य अमेरिकाले मे महिनाको अन्त्यमा अघिल्लो प्रयास विफल भएपछि दुवै प्रतिद्वन्द्वी जनरलहरूमाथि प्रतिबन्ध लगाएपछि पनि धेरै युद्धविरामका लागि युद्धरत पक्ष सहमत भएका छन् र ती तोडिएका छन्।

बुरहान र डग्लो दुवैले लामो समयदेखि अल–बशीरको सरकार सन् २०१९ मा अपदस्थ हुनुअघि दशकौंको अन्तर्राष्ट्रिय प्रतिबन्धको अधीनमा सुडानका  तानाशाह ओमार अल–बशीरको शासनकालमा पर्याप्त सम्पत्ति जम्मा गरेका थिए। अहिले उनीहरूबीच शक्ति सङ्घर्ष हुँदा लाखौँ सुडानी विस्थापित हुनुपरेको छ।

Next Post

बाजुराको बिछिया केन्द्रविन्दु भएर भुकम्प

२९ जेष्ठ २०८०, सोमबार ०७:५१
जेठ-२९, बाजुरा । बाजुराको बिछिया केन्द्रविन्दु भएर आज साेमवार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर बिहान ७ बजेर ३८ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १४ गते सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर ३ […]