`१७ महिनाको अवधिमा सभापति देउवाले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्मा पार्टी रूपान्तरण गर्न आवश्यक परे महामन्त्री पदबाटै राजीनामा दिने मनस्थितिमा´

बैशाख-२६, काठमाडौँ — कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने, बरु विद्रोह गरेर भए पनि पार्टीको शुद्धीकरण अभियानमा जुट्ने उद्घोष गरेका छन् ।
देउवा सभापति निर्वाचित भएको १७ महिनाको अवधिमा नेतृत्वले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्माले पार्टी रूपान्तरण गर्न आवश्यक परे महामन्त्री पदबाट राजीनामा दिने मनस्थितिसमेत बनाएका छन् । पछिल्लो पटक मन्त्री छनोटको विषयलाई लिएर चिढिएका महामन्त्रीद्वयले आइन्दा नेतृत्वले गर्न नसकेका र गरेका गलत कामको भारी आफूहरूले नबोक्ने भन्दै वैशाख २२ मा धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमै देउवालाई चेतावनी दिएका थिए ।
स्रोतका अनुसार देउवाले एकलौटी निर्णय गरेको भन्दै महामन्त्री थापाले आफ्नै हिसाबले अघि बढ्ने चेतावनी पदाधिकारी बैठकमा दिएका थिए । ‘तपाईंले कुनै कुरामा सहभागी गराउनुभएको छैन, अनावश्यक कुराको भारी बोक्दैनौं,’ थापाले भनेका थिए, ‘तरुण दल, महिला संघ, नेविसंघ र राष्ट्रिय सभाको उम्मेदवारीजस्ता सारा विषयमा एक्लै निर्णय गर्नुभयो, तपाईंले कुनचाहिँ कुरामा सल्लाह गर्नुभएको छ ? हामी निर्वाचित महामन्त्री हौं तर महामन्त्रीजस्तो व्यवहार गर्नुभएको छ ? जे गर्नुपर्छ, म आफ्नो हिसाबले गर्छु ।’ थापाले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा सभापतिलाई लक्षित गर्दै आक्रोशपूर्ण ट्वीट गरेका छन् । जसमा पार्टीभित्रै विद्रोह गर्ने संकेत गरेका छन् ।
अर्का महामन्त्री शर्माले पदाधिकारी बैठकमै पार्टीमा आमूल परिवर्तन हुने संकेत नपाएको भन्दै सभापतिलाई अझै सहजता चाहिएको हो भने आफूले महामन्त्री पदबाटै राजीनामा दिने बताएका थिए । दोस्रो कार्यकाल सम्हालेको १७ महिनासम्म महामन्त्रीको भूमिका र हैसियतलाई नजरअन्दाज गर्दै आएका देउवाले पछिल्लो पटक मन्त्री छनोटमा समेत बाइपास गरेका थिए ।
कार्यसमितिमा सदस्य मनोनयन गर्दा महामन्त्रीलाई जानकारी गराएका थिएनन् । गठबन्धन निर्माण, टिकट वितरणदेखि मन्त्रिपरिषद् विस्तारसम्मका घटनाक्रमले अहिलेको परिस्थिति निर्माण गरेको थापानिकट विश्लेषक गेजा शर्मा बताउँछन् ।
‘हालसम्म गगनजीले देउवासँग संघर्षभन्दा पनि इन्गेज भएर कन्भिन्स गर्ने उद्देश्य लिनुभएको थियो तर टिकट वितरणसम्मका घटनाक्रमको विश्लेषण गर्दा विगतका रणनीतिले परिणाम हासिल गर्न नसकेपछि दबाब र संघर्षको चरणमा प्रवेश गर्न खोजिएको देखिन्छ,’ शर्मा भन्छन्, ‘पार्टीमा रूपान्तरण, पुस्तान्तरण र सुधार नभए कांग्रेस र गगनजी, विश्वजीहरूको भविष्यमाथि नै प्रश्न उठ्ने भएकाले उहाँहरू निर्णायक पहल र संघर्ष गर्ने ठाउँमा आइपुग्नुभएको हो ।’
खासगरी तनहुँ–१ मा पार्टीले हार व्यहोर्नुपरेपछि महामन्त्री थापा र शर्मामाथि विभिन्न कोणबाट प्रश्न उठ्न थालेको छ । विधानअनुसार सभापतिले गरिदिनुपर्ने काम नगरिदिँदा महामन्त्रीहरूको भूमिका देखिन सकेको छैन तर आमजनमानसमा महामन्त्रीले पनि केही गर्न नसकेको सन्देश जान थालेपछि त्यसबाट उनीहरू सबैभन्दा बढी चिन्तित छन् । पार्टीका विभाग गठन, भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, केन्द्रीय कार्यसमितिको मनोनयन, कोषाध्यक्षको नियुक्ति लगायतका अधिकार सभापतिलाई दिएको छ । विधानअनुसार महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नुपर्ने विभागसमेत गठन गरिएको छैन । सभापतिले विभाग गठन गरिदिएपछि मात्रै महामन्त्रीले त्यसलाई परिचालन गर्ने हो । ‘तपाईंले महामन्त्रीलाई गन्नुभएन, कुनै पनि सुझाव मान्नुभएन, अब तपाईंको असफलताको भारी हामी बोक्दैनौं, के गर्नुपर्छ गर्नुहोस्, हामीलाई केही मतलब छैन,’ पदाधिकारी बैठकमा थापाले चेतावनी दिएका थिए ।
अर्का महामन्त्री शर्माले तत्काल पार्टीमा आमूल परिवर्तन नभए महामन्त्रीबाट राजीनामा दिने चेतावनी दिएका थिए । ‘म तपाईंको टिमबाट महामन्त्री जितेको होइन । समग्र यो काम नहुनुको पछि अनुकूल महामन्त्री नभएर हो भन्ने तपाईंलाई लागेको छ भने म राजीनामा दिन तयार छु तर यस्तो तालले पार्टी चल्दैन । पार्टीमा आमूल सुधार हुनुपर्छ । त्यसका लागि म सांसद मात्रै भएर पनि भूमिका निर्वाह गर्न तयार छु,’ शर्माको भनाइ उद्धृत गर्दै अर्का एक पदाधिकारीले भने, ‘म मन्त्री हुन्न भनेकै छु । तपाईंले पार्टीलाई आमूल सुधारको बाटोमा नहिँडाउने हो भने महामन्त्रीबाटै राजीनामा दिन्छु । सांसदको हैसियतमा रहेर काम गर्छु ।’
यसो भनेपछि देउवा हच्केका थिए । त्यसको भोलिपल्टै दुवै महामन्त्रीलाई निवासमा बोलाएर उनले पार्टीभित्र गर्न बाँकी रहेका काम एक साताभित्रै गर्ने वचन दिएका छन् । संस्थापन पक्षमै रहेका नेताहरूसमेत देउवाको पछिल्लो कार्यशैलीप्रति सन्तुष्ट छैनन् । नयाँ र समावेशी आधारमा मन्त्री छनोट नगर्दा आमअसन्तुष्टि पार्टीप्रति नै चुलिएको भन्दै उनीहरूले समेत नेतृत्वको कार्यशैली नसच्चिए पार्टी सक्किने चेतावनी दिएका छन् । संस्थापनपक्षीय केन्द्रीय सदस्य श्याम घिमिरे नेतृत्वबाट नयाँलाई निषेध गर्ने काम भइरहेको बताए । ‘नयाँलाई निषेध गर्ने काम पार्टीबाट भयो । यसले चुनाव जितेर आउनेहरूलाई ऊर्जा दिँदैन । भइरहेकाले मात्रै अवसर पाउँदा नयाँ सांसदको परीक्षण पनि हुन पाएन,’ घिमिरेले भने, ‘कांग्रेसमा यतिबेला शल्यक्रिया नै गर्नुपर्ने भएको छ । तर, सामान्य मलमपट्टी लगाउने काम पनि नेतृत्वबाट हुने छाँट देखिएन ।’ @फोटो तथा समाचार कान्तिपुरबाट साभार ..

