जागेश्वर गौतम ज्यू, तपाइँको पत्रकार सम्मेलन बन्द गर्नुस्

  ।   २४ आश्विन २०७७, शनिबार १०:३८

रामेश्वर शाह

संकटमा अभिभावकको आवश्यक पर्छ । मुलुकको अभिभावक सरकार हो । सरकारको पहिलो दायित्व आफ्ना नागरिकको जीवनरक्षा गर्नु हो । सरकारले जनतालाई सधैं आश्वस्त र भरोसा दिइरहनु पर्छ । तर, कोरोनाभाइरसको कहरमा जनतालाई सरकारले भरोसा र आश्वस्त भन्दा त्रास बढी बाँडिरहेको छ ।

दैनिक आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सरकारबाट जनताको जीवनरक्षा अर्थात स्वास्थ्य सेवामा समर्पित रहेको र भरोसा गर्न आह्वान गर्न सकेनन् । दैनिक नागरिकलाई घरबाट बाहिर निस्कए मर्नुपर्ला, अस्पताल छैन, स्वास्थ्यकर्मी पर्याप्त छैनन्,  स्वास्थ्य सामग्री आवश्यकमात्रामा छैनन् भन्दै उनले जनतालाई त्रसित बनाइरहे । सबैभन्दा ठूलो र प्रभावकारी उपचार आत्मबल हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेरेर पनि थाहा हुन्छ, आत्मबलको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव ।

सरकारकोतर्फबाट प्रवक्ता डा. गौतमले जनतालाई चेतावनी दिँदै आएको महिनौँ भयो । कोरोनाको पहिलो केस नेपालमा देखापरेको नौ महिना भयो । तर, जनताको जीवनरक्षाका लागि आवश्यक आइलोलेसनका बेड, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको बन्दोबस्त गर्न सरकारले केले रोक्यो ? आफूलाई चाहेका व्यक्तिलाई एकपछि अर्काे नियुक्ति थमाएर पदको लाभ बाँड्दा जनताको स्वास्थ्य सुरक्षाका लागि औषधि, स्वास्थ्यकर्मी र अस्पातलको बन्दोबस्द गर्न दुई तिहाइ नजिकको बहुमत सरकारलाई केले रोक्यो ?

काठमाडौं उपत्यकासहित संक्रमण जोखिम जनताका कारणले मात्रै बढेको हो कि नेतादेखि पहुँचवालाको देश दौडाहाले पनि हो ? सर्वसाधारण जनता घरमा थुनिँदा काठमाडौंका सडकमा र राजमार्गहरुमा महँगा गाडी कसका कुदेका थिए ? तर, संक्रमितको संख्या ह्वात्तै बढेपछि  प्रवक्ता डा. गौतमको ‘बेहोस भएमा वा बेहोस हुन लागेमा अस्पताल आउनू’ भन्ने उर्दीले जनतामा परेको नकारात्मक प्रभावले कोरोनासंक्रमणको जोखिमलाई कम गर्न सक्छ ?

भरोसा गर्नुपर्ने सरकारले उल्टै मर्ने भएमात्रै अस्ताल आउनू भन्ने आशय जनतालाई दिएर कुन अभिभावकत्व ग्रहण गरेको हो ? केही महिना अघि कोरोना नियन्त्रणमा सांसदहरुले राखेको जिज्ञासामा आफूलाई कोभिडविद् जस्तै दर्शाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको हाछ्यूँ साछ्यूँ, तातो पानी र बेसार पानी’को अभिव्यक्तिले कोरोना संक्रमण नियन्त्रणमा कत्तिको प्रभावकारी भयो ? यसबारे जनताले मुल्यांकन गरिरहेका छन् ।

महामारी संकटमा साथ र भरोसा योग्यका रुपमा आफूलाई स्थापित गराउनु पर्ने सरकार उल्टै चेतावनी दिएर दैनिक निराशापन दिँदै  अत्याइरहेको छ । कोरोना संक्रमणको दैनिक अपडेट अब लाइभमा आएर दिनुपर्दैन । लाइभमा आएर जनतालाई तर्साउनु भन्दा आफ्नो आधिकारिक फेसबुकपेज र वेबसाइटमार्फत कोरोना संक्रमणको अपडेट गराउँदा जनता सुसूचित हुनेछन् ।

तर लाइभमा आएर निराशा बाँड्नु भन्दा यो समयलाई जनताको उपचारको व्यवस्थापनमा खर्चिंदा उपयुक्त हुनेछ । यसर्थ प्रवक्ता डा. गौतमज्यू, छाडिदिनुस् जनता तर्साउने तपाइँको दैनिक प्रेस बिफ्रिङ कार्यक्रम ।

Next Post

चितवनमा एक सङ्क्रमित वृद्धको मृत्यु

२४ आश्विन २०७७, शनिबार १०:३८
चितवन, असोज २४ । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका […]

सम्बन्धित