बिष्णु कुमारी जैशी /दैलेख ।

नवनिर्वाचित अध्यक्ष नरेन्द्रबहादुर थापा
दैलेख उद्योग बाणिज्य संघ दैलेखको दशौं अधिवेशनबाट निर्वाचित अध्यक्ष र सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन अधिकृत तथा दैलेख बारका सचिव प्रेमबहादुर थापाले संघको भवनमा एक औचारिक कार्यक्रमका बीच सोमबार सपथ गराइसकेपछि निवर्तमान अध्यक्ष कुलबहादुर बिकले नवनिर्वाचित अध्यक्ष नरेन्द्रबहादुर थापालाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
सपथ र पदभार ग्रहणपछि दैलेख उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नरेन्द्रबहादुर थापाको अध्यक्षतामा संघको पहिलो बैठक बसेको छ । सोमबार नै बसेको पहिलो बैठकले जिल्ला सदरमुकामभित्र एकतर्फी चलाउने सवारी नियमले नागरिकहरुलाई असुविधा भएको भन्दै अटोरिक्सा र साना गाडीहरुलाई यो नियम नलगाउन नगरपालिका र प्रशासनलाई अनुरोध गर्ने निर्णय भएको बताइएको छ ।

सपथ ग्रहण कार्यक्रम
वैशाख २५ गते भएको निर्वाचनबाट अध्यक्ष नरेन्द्रबहादुर थापा र १६ जना सदस्यहरु पनि थापाकै प्यानलबाट निर्वाचित भएका थिए । संघको विधानले पदाधिकारीहरूमा अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुन्ने र निर्वाचन भएको १५ दिनभित्र सदस्यहरु मध्येबाट तीन उपाध्यक्ष, एक महासचिव र एक कोषाध्यक्ष पदको बाँडफाँड गर्ने व्यवस्था गरेको छ ।

