लुम्बिनीको विशेष अधिवेशन आजदेखि, अविश्वास प्रस्तावमा भोलि मतदान, विपक्षीलाई `फ्लोर क्रस´ कै आश

  ।   १९ बैशाख २०७८, आईतवार ०९:२६

 

वैशाख १९, बुटवल ।

विपक्षी दलहरूको निवेदन अनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार (आज) देखि सुरु हुँदैछ । विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्ताव टुंगो लगाउने छ ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्तावमाथि आ–आफ्ना धारणा राख्ने छन् । सोमबार मुख्यमन्त्री पोखरेलले छलफलमा उठेका विषयमाथि आफ्नो भनाइ राखेपछि अविश्वास प्रस्तावमाथि मतदान हुने छ ।

विपक्षी दलहरुले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन् । उनीहरूले अविश्वास प्रस्तावमाथि आजै मतदान गराउनुपर्ने अडान राखेपनि सत्ता पक्षले नमानेकाले मतदान एक दिनपछि धकेलिएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।

विपक्षी दलले अविश्वास प्रस्तावको तयारी गरेपछि चैत ५ गते मुख्यमन्त्री पोखरेलले हिउँदे अधिवेशन अन्त्य गराएका थिए । अधिवेशन अन्त्य भएको एक महिनापछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

सोहीदिन विपक्षी दलहरुले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन बोलाउन माग गर्दै समावेदन गरेका थिए । सोही निवेदनका आधारमा वैशाख १५ गते प्रदेश प्रमुखले प्रदेश सभा सचिवालयलाई १९ गते विशेष अधिवेशन बोलाउन पत्र पठाएका थिए ।

यस्तो छ अंक गणित

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई सांसद एमालेमा प्रवेश गरेपछि पदमुक्त हुँदा ८५ सदस्यीय भएको थियो । अहिले जनता समाजवादी पार्टीका चार जना सांसद पनि पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ ।

अविश्वास प्रस्ताव दर्ता गर्दा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जनता समाजवादी पार्टीका ५ जना सांसद गरी ४१ जनाले हस्ताक्षर गरेका थिए । जसपाका ६ जनामध्ये पूर्वराजपाकी कल्पना पाण्डे लम्सालले हस्ताक्षर गरेकी थिइनन् ।

तर कल्पनासँगै सन्तोष पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै मन्त्री बनेपछि जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमतले चार जनालाई पदमुक्त गर्ने निर्णय गरेसँगै प्रदेश सभाले चारैजना पदमुक्त भएको सूचना प्रकाशित गरिसकेको छ । यसले गर्दा प्रदेश सभा ८१ सदस्यीय भएको हो । जसमा मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको नेकपा एमालेका ४१ सांसद छन् ।

अविश्वास प्रस्ताव पारित हुन पनि कम्तीमा ४१ मत आवश्यक पर्छ । तर विपक्षीहरुसँग सभामुखसहित ३९ मत छ । राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्दा ४० मत हुन्छ । जनमोर्चाको साथ पाउँदा पनि अविश्वास प्रस्ताव पारित हुन अझै एक मत कम हुन्छ ।

विपक्षीलाई फ्लोर क्रसको आश

लुम्बिनी प्रदेश सभामा एमालेका ४१ जनामध्ये २ जना माधव नेपाल पक्षमा खुलेका सांसद छन् । तर उनीहरुले कर्णालीमा जस्तै फ्लोरक्रस गर्छन् भन्ने निश्चित छैन । उनीहरुमध्ये एकजनाले मात्रै फ्लोर क्रस गरेपनि अविश्वास प्रस्ताव पारित भई सरकार ढल्न सक्छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक घर्ती भने अविश्वास प्रस्ताव पारित गर्ने गरी आफूहरु अघि बढेको दाबी गर्छन् ।

Next Post

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

१९ बैशाख २०७८, आईतवार ०९:२६
बैशाख १९, बुटवल । लुम्बिनी प्रदेश  मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ। प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले […]