
आशा काफ्ले
बैशाख १५, दैलेख ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु भएको छ। नारायण नगरपालिका–१ बस्ने ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए।
ती पुरुष मंगलबार जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखमा भर्ना भएका थिए। अस्पताल भर्ना भइसकेपछि कोरोना संक्रमणको आशंकमा परीक्षण गरिएको र एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसन अस्पतालमा सारिएको थियो।
कोरोना संक्रमणबाट मृत्यु भएका ती पुरुषमा अक्सिजनको मात्रा कम थियो। आइसोलेसन अस्पतालमा अक्सिजनसहित उपचाररत ती पुरुषको बुधबार बिहान मृत्यु भएको दैलेख अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारको अन्य व्यक्तिहरुको एक सातापछि कोरोना परीक्षण गरिने डा. थापाले बताए। योसँगै दैलेख जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिले सम्म ७ पुगेको छ।

